PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मानापाथी हिमाल आसपास क्षेत्रलाई आधार मानेर जहाजको खोजी जारी



मानापाथी हिमाल आसपास क्षेत्रलाई आधार मानेर जहाजको खोजी जारी

मुस्ताङ : हराइरहेको तारा एयरको जहाजको खोजीलाई आज बिहानैदेखि निरन्तरता दिइएको छ। पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो।

खराब मौसम र रात परेपछि आइतबार साँझ रोकिएको जहाज खोजीका लागि स्थलमार्गबाट गएका सुरक्षाकर्मीको टोलीले आज बिहानैदेखि निरन्तरता दिएका जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयका प्रशासकीय अधिकृत देवेन्द्रराज पाण्डेले मानापाथी हिमाल आसपासको क्षेत्रलाई आधार मानेर हराएको जहाज खोज्न नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको करिब १०० सुरक्षाकर्मी परिचालन भएका जानकारी दिए।

नेपाली सेना र निजी क्षेत्रको हेलिकप्टर कुहिरोका कारण हिजो दिनभर सम्भावित ठाउँमा पुग्न नसकेपछि अपराह्न स्थलमार्गबाट गएका हुन्। कोवाङदेखि करिब दुई घण्टा पैदल हिँडेर याकखर्क पुगेका सुरक्षाकर्मी बिहानै मानापाथी हिमालतर्फ लागेका हुन्। आज पनि कुहिरो लागेकाले हेलिकप्टर उडाउन समस्या देखिएको र खोजीमा चुनौती भएको प्रशासकीय अधिकृत पाण्डेले बताए। 

काठमाडौंबाट सेनाका उद्धारकर्ता आवश्यक सामग्रीसहित हेलिकप्टरबाट कोवाङ आएका थिए। याकखर्कमा यार्सागुम्बा सङ्कलन गर्न गएका सोलुखुम्बुका राजकुमार राईले नजिकबाट उडेको जहाज ठोक्किएको आवाज सुनेको उद्धारकर्तालाई बताएका थिए।

सुरक्षाकर्मीसँगै उद्धारमा खटिएका स्थानीयवासी इन्द्रसिंह शेरचनले थप तीन घण्टा पैदलयात्रा गरेपछि सम्भावित स्थलमा पुगिने बताए। पोखराबाट बिहान ९ : ५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १० : ०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell