PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

तारा एयर विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने, आजै छानबिन समिति गठन गरिने



तारा एयर विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने, आजै छानबिन समिति गठन गरिने
फोटो : नेपाली सेना

काठमाडौं : तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका यात्रु र चालक दलको शव आजै काठमाडौं ल्याइने भएको छ। आइतवार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान दुर्घटना भएको थियो।

मुस्ताङको थासाङस्थित कोवाङ नजिकै सानुसरेमा भएको दुर्घटनामा दिवंगत यात्रु र चालकदलको शव ल्याउनका लागि उद्धार टोली पुग्न भने बाँकी नै रहेको जनाइएको छ। शव काठमाडौं ल्याएलगत्तै महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।

'मौसमले साथ दिइरहेको छैन। शव लिनका लागि क्लाइम्बर र रेस्क्यु टिम घटनास्थलमा पुग्न बाँकी नै छ। उताबाट सेनाको एमआइ-१७ हेलिकोप्टरमार्फत शव ल्याइनेछ। काठमाडौंको डोमेस्टिकतर्फ आर्मीको ह्याङ्गरमा हेलिकोप्टर अवतरण गराइनेछ,' उनले भने, 'त्यसपछि टिचिङ हस्पिटल लगिने तयारी छ।'

दुर्घटना छानबिनका लागि आजै समिति गठन गर्ने पनि तयारी रहेको उनले जानकारी दिए।

मुस्ताङको थसाङ-२ स्थित कोवाङ नजिकै सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। आइतवार बिहान ९:५५ बजे पोखराबाट जोमसोम उडान गर्ने क्रममा तारा एयरको नाइन एन-एइटी कलसाइनको ट्‍वीनअटर सम्पर्कविहीन भएको थियो।

यो जहाज पोखरा विमानस्थलबाट १९ जना यात्रु र तीनजना चालकदलसहित जोमसोमका लागि उडेको थियो। जहाजमा सवारमध्ये ४ जना महिला थिए। चालक दलका सदस्यमा प्रभाकर घिमिरे पाइलट, उत्सव थापा को-पाइलट र एअर होस्टेज किस्मी थापा थिए।

जोमसोम ल्यान्ड गर्नु पर्ने जहाज बाटैबाट हराए पनि फेला पर्न निकै समय लागेको थियो। खोजीका लागि इएलटीएसको सहायता लिइएको थियो। अस्ट्रेलियाबाट आएको निर्देशन अनुसार इएलटी 'इमर्जेन्सी लोकेटर ट्रान्समिटर' को सहायताले घटनास्थलको पहिचान गरिएको नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ।

आकस्मिक अवस्थामा यो प्रणालीले जहाजको अवस्थाबारे केही जानकारी दिने क्षमता रहने उनले बताए। 'अस्ट्रेलियाबाट आएको कोर्डिनेटअनुसार यतिखेर उद्धार टोलीलाई परिचालन गरिएको थियो,' प्राधिकरणका एक कर्मचारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell