PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

मुक्तिनाथ दर्शनमा निस्केका थिए लोटा गाउँका तामाङ परिवार, साता दिनमै फिर्ता पठाउँछु भनेका थिए राजनले



सुमित मिश्र

मुक्तिनाथ दर्शनमा निस्केका थिए लोटा गाउँका तामाङ परिवार, साता दिनमै फिर्ता पठाउँछु भनेका थिए राजनले

जनकपुरधामः धनुषाको मिथिला नगरपालिका - ११ स्थित लोटा गाउँका मकरबहादुर तामाङ भाञ्जा राजनको फोन आएपछि काठमाडौं हानिए शुक्रबार। श्रीमती सुकुमायालाई पनि साथै लगे उनले।

भाञ्जाले मुक्तिनाथ दर्शनका लागि आउनु भनेर केही दिनअघिनै निम्तो दिएकाले ढिला गरेनन् उनीहरुले।

शनिबार काठमाडौंबाट पोखरा पुगे मकरबहादुर। उनका साथमा थिए श्रीमती सुकुमाया, राजन, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ।

आइतबार पोखराबाट जोमसोम पुग्ने तारा एयरको टिकट लिएका थिए। पोखराबाट जोमसोमका लागि बिहान ९:५५ बजे उड्ने तय भयो।

पोखरा विमानस्थलबाट जोमसोमका लागि जहाज चढ्नुअघि उनीहरुले फोटो खिचे। अनि राजनले आफ्ना घरमा मामा, छोरीहरु दिदी शान्ति र कान्तिलाई मामामाइजुसहित जोमसोमका लागि पोखरा विमानस्थलमा छौं, केही बेरमा विमान उड्ने जानकारी गराए।

राजनका दिदी शान्ति लोटामा थिइन्। उनी ढुक्क भइन्।

‘राजनले आइतबार बिहानै १० बज्न लाग्दा फोन गरेर मामा माइजु काठमाडौं आइपुगिसकेर सबै जना मुक्तिनाथका लागि निस्केका छौं। काठमाडौंबाट पोखरा आइसकेका छौं, अहिले विमानस्थलमा छौं। केही बेरमा बिमानमा चढेर पोखराबाट जोमसोम जानेछौं, कुनै चिन्ता लिनुपर्दैन। मामा माइजुलाई राम्ररी दर्शन गराएर एक सातापछि लोटा पठाइ दिनेछौं,' राजनको भनाई उद्धृत गर्दै शान्तिले सुनाइन्।

बुवासँग पनि कुरा भएको थियो शान्तिको। 'उहाँ निकै खुसी सुनिनुभएको थियो, उहाँले मुक्तिनाथको दर्शन सकाएपछि गाउँ आउनेछु। तबसम्म राम्ररी बस्नु घरबार हेरचाह गर्नु भन्नु भएको थियो,' बोली नसकिँदै भक्कानिइन् शान्ति।

+++

धनुषाको मिथिला नगरपालिका ११ स्थित लोटा गाउँ अहिले शोकमग्न छ। सोमबार बिहानैबाट मकरबहादुरको छोरी शान्तिको घरमा सान्त्वना दिन आउने गाउँले तथा आफन्तहरुको ओइरो छ।

कारण -आइतवार मुस्ताङको थासाङ गाउँपालिकाको वडा २ सानसुरेमा तारा एयरको भएको विमान दुर्घटना।

दुर्घटनामा परी लोटा गाउँका एकै परिवारको सात जनाको मृत्यु भयो। मृत्यु हुनेमा राजन गोले तामाङ उनका बाबु इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेका छन्। 

आइतबार साँझसम्म विमान खोजी भइरहेको छ भन्ने कुरासम्म सबै गाउँबासी र राजनसँगै ज्यान गुमाएका उनका मामा माउजुका परिवारले दिनभरि यता उता फोन घुमाइ रहे। पछि मृत्यु भएको पुष्टि भइसकेपछि अहिले उनका परिवारसहित पुरै गाउँ नै शोकमग्न बनेको छ।

तामाङका परिवार काठमाडौंबाट मुक्तिनाथ दर्शन गर्नका लागि शनिबार पोखरा पुगे। उनीहरु आइतबार पोखराबाट मुक्तिनाथ दर्शनका लागि पोखराबाट जोमसोम सम्मको तारा एयरको टिकट लिएका थिए। आइतबार पोखराबाट जोमसोमका लागि बिहान ९:५५ बजे उड्यो।

तर जोमसोम नपुगी विमान दुर्घटनामा पर्‍यो।

+++

दुर्घटना खबरपछि लोटास्थित राजनको निर्माणाधीन घर पनि सुनसान छ। उनको मामा मकरबहादुरको घर पनि सुनसान छ।

मकर गाउँकै रातु प्राविका अवकाशप्राप्त शिक्षक हुन्। ७२ वर्षीय मकरबहादुर अवकाशपछि नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भई स्थानीय स्तरमा सामाजिक कार्यमा संलग्न थिए। मकरबहादुरको परिवारमा उतम गोले, सुरेश गोले, भूषण गोलेसहित तीन छोरा र शान्ति लामा तामाङ, कान्ति लामा तामाङसहित दुई छोरी छन्।

छोरीहरुको बिहे भइसके पनि सोही गाउँमा घर बनाएर बसेका छन्। कान्छा छोरा भूषण वैदेशिक रोजगारको क्रममा कतारमा छन। सुरेश गाउँमै खेतीपाती गर्दै आएका छन्। उत्तम राजनसँगै उनको फर्ममा काम गर्दै आएको गाउँले छिमेकी बाबुराम गोले तामाङले बताए।

उनले भने, ‘मकर सर निकै राम्रो मान्छे हुनुहुन्थ्यो। शिक्षकबाट अवकाश भएपछि छोरा सुरेशसँगै गाउँमै खेतीपाती गर्दै आउनुभएको थियो। विमान दुर्घटनामा मृत्युको खबरले हामी गाउँबासी निकै मर्माहित भएका छौं।’

मकरबहादुरको जेठा छोरा उत्तम परिवारसहित काठमाडौंमै रहेको र माइला छोरा सुरेश पनि बुवाको शवका लागि काठमाडौमा गएको कारण उनको घर अहिले सुनसान छ। सान्त्वाना दिन आइपुगेका गाउँले उनको छोरी शान्तिकै पुग्छन्।

यता राजनको लोटास्थित घरमा कोही नभएको कारण सुनसान छ भने काठमाडौं गोकर्णेश्वरस्थित घरमा रुवाबासी छ। श्रीमती दिपा सुवेदी र छोराछोरी काठमाडौंमै छन्। भाई मनोज श्रीमती र छोराछोरीसहित अष्ट्रेलिया बस्दै आएका छन्।

राजन एकीकृत समाजवादीकै धनुषाका जिल्ला सदस्यसमेत हुन्। केही दिनअघि स्थानीय तहको निर्वाचनका लागि आफ्ना पार्टीका मेयर पदका उम्मेदवार सूर्य पुडासैनीलाई सहयोग गर्न आफ्नो गाउँ आएका थिए राजन। मत परिणाम आउने अवधिसम्म गाउँमै मामा मकरबहादुरको घरमा बसेका थिए।

निर्वाचन सकेर काठमाडौं फर्किएपछि मुक्तिनाथको योजना बनेको मकरबहादुरकी बहिनी शान्तिले बताइन्।

राजनका काका पुरुषोत्तम गोले पनि काठमाडौं नै बस्दै आएका थिए। पुरुषोत्तमको परिवारमा तीन छोरा र दुई छोरी छन्। छोराहरु सुदर्शन गोले, श्यामदर्शन गोले र विजय गोले अमेरिका बस्दै आएका छन्।

राजन राजनीतिसँगै काठमाडौंमै गलैचाको कम्पनी चलाउँदै आएका थिए। नेकपा एसबाट शत्रुधन महतो मधेस प्रदेशका मन्त्री भएपछि उनको निजी सचिवालय सदस्यको रुपमा काम गर्दै आएका थिए।

राजनले दिदी शान्तिलाई दिएको वचन थियो -कुनै चिन्ता लिनुपर्दैन। मामा माइजुलाई राम्ररी दर्शन गराएर एक सातापछि लोटा पठाइदिन्छु। तर त्यो वचन त पुरा भएन नै राजन आफू पनि कहिले नफर्कने गरी बिदा भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell