PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि



तारा एयर दुर्घटना : सबै शव संकलन, भेटियो सीभीआर पनि

काठमाडौं : तारा एयर दुर्घटनामा परी मृत्यु भएका बाँकी १२ जना यात्रुको शव संकलन भएको छ। यतिखेर बाँकी शव लिनका लागि काठमाडौंबाट गएको नेपाली सेनाको एमआइ-१७ हेलिकोप्टर भने मौसमी प्रतिकूलताका कारण आँबुखैरेनीमा अवतरण गराइएको छ।

पोखराबाट जोमसोमका लागि उडेको ताराको ट्वीनअटर जहाज आइतवार मुस्ताङको थसाङस्थित सानोसरे भीरमा दुर्घटनामा परेको थियो। तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतवार बिहान ९ : ५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमान हराएको १९ घण्टापछि सोमवार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

१० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो।

'बाँकी १२ वटा शव संकलन भइसकेको छ,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, 'आर्मीको हेलिकोप्टर क्र्यास साइटमा जाने क्रममा इनरुट वेदरका कारण आँबुखैरेनीमा बसेको छ। वेदर इम्प्रुभ भएलगत्तै उता जाने तयारी छ।'

घटनास्थल पुगेका उद्धारकर्मीलाई जोमसोम ल्याउनका लागि फिस्टेल र प्रभु हेलिकोप्टर स्ट्यान्डबाइ राखिएको उनले जानकारी दिए। दुर्घटना अध्ययनका लागि आवश्यक ककपिट भ्वाइस रेकर्ड (सीभीआर) फेला परिसकेको उनले बताए। जहाजको पुच्छर पट्टीको भागमा हुने यो उपकरणमार्फत पाइलट र एयर ट्राफीक कन्ट्रोल बीचको संवाद अध्ययन गर्न सकिनेछ।

जहाज दुर्घटना अनुसन्धानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार जाँच आयोग गठन गरिसकेको छ। मन्त्रालयले प्राधिकरणका वरिष्ठ एरोनोटिकल इन्जिनियर रतीशचन्द्र लाल सुमनको संयोजकत्वमा पाँच सदस्यसहितको जाँच आयोग गठन गरिएको हो।

यस अन्तर्गत इन्जिनियर सुमनसहित क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिराज शाक्य, सहसचिव बुद्धिसागर लामिछाने छन्।

जहाज दुर्घटनामा परेको सोमबार बिहान पुष्टि भएको थियो। विमानमा २ तेस्रो मुलुकका, ४ भारतीय र १३ जना नेपाली यात्रु सवार थिए। यात्रुबाहेक चालक दलका थप तीनजना विमानमा थिए।

दुर्घटनास्थल जोमसोमबाट ८ नटिकल माइल दक्षिण र १४ हजार ५ सय फिटमा उचाइमा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell