PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

सिथि नख: पर्वबारे बालेनको राय, 'रैथाने ज्ञानलाई राज्यले अपनत्व लिनुपर्छ'



सिथि नख: पर्वबारे बालेनको राय, 'रैथाने ज्ञानलाई राज्यले अपनत्व लिनुपर्छ'

काठमाडौं : काठमाडौं महानगरका मेयर वालेन्द्र साह 'बालेन्द्र'ले सिथि नख: पर्वको अवसरमा शुभकामना दिँदै राज्यले यसको अपनत्व लिनुपर्ने बताएका छन्। सिथि नख: पर्व तथा विश्व वातावरण दिवसको अवसरमा उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै वातावरण जगेर्नाका लागि यो पर्वको ठूलो महत्व रहेको बताएका हुन्।

'काठमाडौं जसरी मन्दिरहरुको सहरका रूपमा प्रचलित छ, त्यसरी नै काठमाडौँ पाटीपौवा अनि पोखरी, इनार, ढुंगेधारा र कुवाहरूको सहर पनि हो,' उनले भनेका छन्, 'यी सामाजिक सम्पदाहरुको सरसफाइ, मर्मत र जगेर्नाका लागि सिथि नखः पर्वको ठुलो महत्व छ।'

हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन नेवा: सभ्यता र संस्कारअनुरूप सिथि नखः पर्व मनाइन्छ।

सिथि नखः पर्वको दिन धार्मिकरुपमा भक्तपुरको चास खेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाण्डौँको जैसी देवलमा कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर नगर परिक्रमा गराइन्छ। नेवा: समुदायले आफ्नो घरको प्रवेशद्वारमा राख्ने आठ वटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेयलाई जनाउँछ।

त्यसैगरी उपत्यकामा सिथि नखः पर्वको अवसरमा इनार, पोखरी अनि कुवामा पसेर नै सफा गरिन्छ।

यस पर्वको धार्मिक महत्वमात्र नभएर वातावरणीय महत्वसमेत रहेको बालेनको भनाई छ। 'सिथि नखः को धार्मिक महत्वमात्रै छैन। सिथि नखः सँगै पानीको शुद्धता र मुहानको सरसफाइका कुरा पनि जोडिएर आउँछन्,' मेयर बालेनले भनेका छन्, 'पानीको श्रोतहरूको सरसफाइ र सुव्यवस्थालाई ध्यानमा राख्दै सामूहिकरुपमा सिथि नखः मनाइने संस्कृति छ।'

पुराना संस्कार आफैमा वैज्ञानिक भएको उल्लेख गर्दै उनले यो ज्ञानलाई राज्यले अपनत्व लिनुपर्ने बताएका छन्। 'वातावरण, पर्यावरण अनि जीवन–शैलीको अनुपम सम्मिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाइको पाठ सिकाइरहेको छ। हाम्रा पुराना धेरै संस्कारहरू आफैँमा वैज्ञानिक र परिवर्तनकारी पनि छन् भन्ने सन्देश पनि दिन्छन्,' उनले थप भनेका छन्, 'हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रैथाने ज्ञानलाई राज्यले नै अपनत्व लिनु पर्छ भन्ने हाम्रो मान्यता छ। यसैका लागि हामीले आगामी बजेटमा काठमाडौंमा रहेका सम्पुर्ण ढुंगेधारा जुन निष्क्रिय अवस्थामा छन्, पानीको मुहान सुकेको अवस्था छन्, तिनलाई ब्युताउनको लागि सम्बन्धित शीर्षकमा बजेट बिनियोजन गरेर उपयुक्त प्रयासहरु गर्नेछौँ।'

सहर घरै–घरले भरिँदै गएका गएको र खुला ठाउँमा पनि सडक र सिमेन्टेड हुँदै गएकोले वर्षा याममा जतिसुकै धेरै पानी परेता पनि वरपर सिमेन्टका भुईँ भएका कारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने बालेनले बताएका छन्। यसले गर्दा नै धेरै जसो पानीका मुहानहरू सुक्दै गएका अनि हामीहरू पाइप, ट्याङ्कर अनि जारका पानीमा धेरै निर्भर रहनु परेको उनको भनाई छ। यस्तो अव्यवस्थाका कारणले काठमाडौँ अनि काठमाडौंबासीहरूलाई सिथि नखःको महत्त्व अझै बढेर गएको मेयर बालेनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell