चीनले मानवसहितको अन्तरिक्षयान प्रक्षेपण गरेको छ। आइतवार बिहान १० : ४४ बजे तीन जना अन्तरिक्ष यात्रीसहित यान प्रक्षेपण गरेको सिन्ह्वाले जनायो।
सेन्झउ - १४ नामक यानमा रहेका ती यात्रीले ६ महिना अन्तरिक्षमै समय बिताउने बताइएको छ। उक्त यान दक्षिण - पश्चिम चीनको जिक्वान स्याटलाइट लन्च सेन्टरबाट प्रक्षेपण गरिएको थियो।
उक्त टोली तियङगोङ स्पेस स्टेसनमा डिसेम्बरसम्म रहनेछन्। यो सन् २०२१ अप्रिलमा निर्माण भएको नयाँ स्टेसन हो। टोलीमा चेन दोङ, लिउ याङ र चाइ छुजे रहेको ग्लोबल टाइम्सले जनाएको छ। चेन यो यात्राका कमान्डर हुन्। उनी यसअघि पनि लामो समय अन्तरिक्षमा बसिसकेका व्यक्ति हुन् भने लिउ पहिलो चिनियाँ महिला अन्तरिक्ष यात्री हुन्। उनी २०१२ मा सेन्झउ - ९ मिसनमा अन्तरिक्षा पुगेकी थिइन्। यता चाइ भने पहिलोपटक अन्तरिक्ष यात्रामा निस्किएका हुन्।
यो टोलीले स्टेसनको निर्माण कार्यमा समय बिताउने चाइना म्यान्ड स्पेस एजेन्सीका सहायक निर्देशक लिन जिक्वियङले बताएका छन्।
यो स्टेसनमा चीनको तेस्रो मिसन भएको सिएनएनले जनाएको छ। यसअघि गत सेप्टेम्बरमा तीन सदस्यीय टोली उक्त स्टेसनमा तीन महिना बसेका थिए। त्यसपछि सेन्झउ - १३ यानमा तीन जनाको टोली पुगेका थिए। उनीहरुले त्यहाँ ६ महिना बिताएका थिए। यसपटकको मिसनपछि यो नयाँ स्टेसन पूर्ण रुपमा सञ्चालनमा ल्याउने चीनले तयारी गरेको छ।