बेलायतका प्रधानमन्त्री बोसिस जोन्सनले टोरी सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमवार भएको मतदानमा २११ सांसदले उनको पक्षमा मत दिँदा १४८ जनाले भने विपक्षमा मत खसाले।
विश्वासको मत प्राप्त गरेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ।
विश्वासको मत प्राप्त भएपछि जोन्सनले धेरै राम्रो भएको बताएका छन्। यद्यपि, उनका आलोचकहरुले ४१ प्रतिशत सांसदहरुको मत नपाउनु अधिकार खुम्चिनुसरह भएको बताएका छन्।
५९ प्रतिशतमात्र मत पाउनु खासै उत्साहजन नभएको भन्दै केहीले उनलाई राजीनामा दिनसमेत सुझाएका छन्।
सन् २०१९ मा प्रधानमन्त्री बनेका जोन्सन विभिन्न कारणले विवादमा तानिइरहेका छन्। पछिल्लोपटक कोभिड - १९ का कारण देश लकडाउनमा रहँदा जन्मदिन मनाउने क्रममा उनले प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा पार्टी गरेका थिए। यतिमात्र हैन महामारीबीच अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोन्सनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।
सोही कारण उत्पन्न आक्रोशले जोन्सनविरुद्ध उनको संसदीय दलभित्र मतदान भएको बताइएको छ।