- राजु आचार्य-
ध्वाँसे चितुवा, बिरालो प्रजातिहरूमा सबैभन्दा लामो दाह्रा भएको प्रजाति हो, यिनीहरू बाँदर जसरी सजिलै रुख चढ्न र ओर्लन सक्छन्। पुच्छर, जिउ बराबर लामो हुने यी प्रजातिलाई विभिन्न ठाउँहरूमा रुख बाघ, टोड्के बाघ र निगाले बाघ पनि भन्ने गरिएको पाइएको छ। ध्वाँसे चितुवाको वयस्क भाले २५ किलोग्राम सम्मको हुन्छन र चिडियाखानामा यिनीहरू १७ वर्षसम्म बचेको अभिलेख गरिएको छ। एक पटकमा १ देखि ५ वटा बच्चा जन्माउने गर्छन्।
वन कुकुरलाई ढोले, रेड डग, ब्वाँसो, पेंउ, व्हिस्लिंग डग आदि नामले चिनिन्छ। यिनीहरूको जोडी जीवनभर सँगै रहन्छ। पाँच देखि बाह्रको समूहमा बस्ने यिनीहरू बिहान र साँझमा बढी सक्रिय हुन्छन्। मुसादेखि आफ्नो शरीरभन्दा निकै ठुला जनावरको सिकार गर्न सक्ने यी जनावारहरुले ओडारमा बच्चा जन्माउने गर्छन्l र एक बेतमा ३ देखि ४ र बढीमा १० वटा छाउराहरू जन्माउँछन्।
चितुवालाई विभिन्न भाषामा प्यान्थर, चे, र पहाडमा बाघ पनि भनिन्छ। यिनीहरू धेरै शक्तिशाली हुन्छन, धेरै ठुला आहारा प्रजातिलाई पनि मार्न अनि सिकारलाई रुखमा लगेर खान सक्छन्। यिनीहरू बढीमा ५८ किमी प्रतिघण्टाको दरले दौडिन, र करिब ६ मि. टाढा र ३ मि. अग्लो छलाङ मार्न वा उफ्रिन सक्छन्। यिनीहरू पौडी पनि राम्रोसँग खेल्न सक्छन्। प्रजननको मौसमबाहेक अन्य बेला यिनीहरू एक्लै विचरण गर्ने गर्छन्। आफ्नो क्षेत्र निर्धारण गर्नको लागि बलिया नङ्ग्राले रुख कोतर्ने, तथा बाटोहरूमा पिसाब तथा दिशा गर्ने गर्छन्। ठुला मांसाहारी बिरालो प्रजातिहरूमा सबैभन्दा धेरै किसिमको वासस्थानमा बाच्न सक्ने प्रजाति चितुवा हो। यिनीहरू एक बेतमा २ देखि ३ वटासम्म बच्चा जन्माउन सक्छन्।
एक अध्ययनका अनुसार गोठे लाटोकोसेरोको एउटा परिवारले फुल (अण्डा) पारेर, कोरल्दै चल्लालाई उड्ने बनाउने बेलासम्मको एक सिजन(करिब ४ महिना) मा, २००० देखि ३,००० वटासम्म मुसा खाने गरेको भेटिएको छ। मुसालगायत खाएर अन्नबाली जोगाउने भएकोले यिनलाई किसानको साथी पनि भनिन्छ।
लाटोकोसेरोको आँखा मान्छेका जस्तै अगाडि फर्किएको हुन्छ। यिनीहरूले आफ्नो टाउकोलाई एकै दिशामा २७० डिग्रीसम्म घुमाउन सक्छन्, जबकि मानिसले मात्र ९० डिग्री मात्र। नेपालमा हालसम्म २३ प्रजातिका लाटोकोसेरो तथा हुचिलहरू अभिलेख गरिएका छन्।
विश्वभर घर पालुवा बिरालोलेमात्र करिब ६३ प्रजातिका वन्यजन्तु लोप वा लोपोन्मुख हुनेगरि नोक्सान गरेका छन्। जसमध्ये ४० प्रजातिका चरा मात्र छन्। चराबाहेक २१ प्रजातिका स्तनधारी र २ प्रजातिका सरीसृप पनि छन्।
विभिन्न समाज र संस्कृतिमा सर्पबारे अनौठो चलन पनि रहिआएको छ। भारतमा सन् २००६ मा एक जना ३० वर्षीया महिलाले सर्पसँग विवाह गरेकी थिइन्। अफ्रिकामा मरेका आफन्तले सर्पको जुनी लिएर फेरि जन्मिन्छन् भन्ने विश्वास गरिन्छ। नेपालमा भने सर्पलाई मारे पनि यसले आँखामा फोटो खिचेर राख्ने र पछि मार्न वा टोक्न आउने भएकोले मारिसकेपछि पनि टाउको टुक्राटुक्रा पारिन्छ। सर्पको फाइदाको बारेमा थाहा नपाएर यसो गरिन्छ।
संसारभर पाइने करिब ३ हजार प्रजातिका सर्पमध्ये नेपालमा करिब ८० प्रजातिका सर्प अभिलेख गरिएको छ जसमध्ये करिब १५ प्रतिशतभन्दा पनि कम प्रजातिका सर्पमात्रै विषालु छन् र सो मध्ये पनि आधा जतिले टोकेमामात्र मानिसलाई ठुलो नोक्सानी हुने सम्भावना हुन्छ।
सर्पका २०० वटासम्म दाँतहरू हुन्छन्। जुन टोक्नको लागि नभई आहारालाई भित्रतर्फ तान्न र आहारालाई फुत्कन नदिनको लागि मात्र प्रयोग हुन्छ।
नेपालमा हाब्रेको सङ्ख्या ३१७ देखि ५८२ सम्म भएको अनुमान सन् २०११ मा प्रकाशित स्तनधारीसम्बन्धी रातो पुस्तकमा उल्लेख गरिएको छ। यो प्रजातिलाई संसारमा सङ्कटापन्न (इन्डेन्जर्ड) मानिन्छ। र, यिनको सङ्ख्या पनि घट्ने क्रममा नै छ। यो प्रजातिलाई नेपाल सरकारले विशेष संरक्षण प्रदान गरेको छl हालसम्म २४ जिल्लामा हाब्रे रहेको अनुमान छ।
कागले मानिसको अनुहारलाई पहिचान गर्न सक्दछन्l यिनीहरू एक अर्कासँग वार्तालाप गर्छन् र परेका समस्याहरूलाई समाधान गर्ने क्षमता समेत राख्दछन्l यिनीहरूले प्रयोग गर्ने भाषा क्षेत्रअनुसार फरक-फरक भेटिएको छl
काग मर्दा अन्य कागहरू जम्मा हुन्छन्। ठुलो ठुलो स्वरमा कराउँछन्l मरेको कागलाई छुँदैनन्l उनीहरू सो क्षेत्रमा भविष्यमा कुनै जोखिम त छैन भनेर सोही बेला विचार विमर्शसमेत गर्दछन्।
ध्वाँसे चितुवा प्रजातिले भुईँमा भन्दा रुखमा समय बिताउने गर्दछ। यो रुखमा बाँदर झैँ चढ्ने, उफ्रने तथा झुन्डिने गर्न सक्छ। यी राम्रो पौडीबाज पनि हुन्। यिनीहरूले बाँदर, मृग, कालिज, बँदेल लगायत जनावर खाने गर्दछन्। यो कास्की जिल्ला मादी गाउँपालिकाको वन्यजन्तुसमेत हो।
प्रेम छोटो समय चल्यो भने भँगेरासँग तुलना गरिन्छ। प्रेमी प्रेमिका वरपर कसैको वास्ता नगरी लामो समय एकै ठाउँमा बसिरहे ‘ढुकुरको जस्तो जोडी’ भनेर भनिन्छ l चखेवा चराको बिचमा त यस्तो प्रेम हुन्छ कि भाले र पोथीमध्ये एक मरेमा अर्को त्यही शोकले मर्दछन्। त्यसैले, राम्रा प्रेमीहरूलाई चखेवाको जस्तै जोडीको उपमा दिने गरिन्छ। त्यसैगरी अन्य धेरै प्रजातिका चराहरू पनि चखेवाझैँ आफ्ना प्रिय र प्रियतमाहरूसँग पुरै जीवन बिताउँछन्।
संसारमा करिब १० हजार तथा नेपालमा करिब ८८९ प्रजातिका चराहरू भेटिएका छन्l
गाइने किरा मांसाहारी किरा हुन्। साना किराहरू, मौरी, माखा, लामखुट्टे खान्छन् र कहिलेकाहीँ पुतली पनि। एक दिनमा कम्तीमा ३० वटा लामखुट्टे खाने गर्दछन्। उडिरहँदा नै आहारालाई समातेर खान पनि सक्छन्। ठुला गाइने किराले साना गाइने किराहरूलाई समेत खाने गर्दछन्। आफ्नो आहारलाई देखि सकेपछि ९५% अवस्थामा मारिदिन्छन्।
घोरल समूहमा विचरण गर्ने जङ्गली बाख्राको प्रजाति हो । यसलाई गुरुङ भाषामा तोसार भनिन्छ। यिनीहरू ४ देखि १२ वटा सम्मको बथानमा बस्छन् भने बिहान र साँझमा बढी सक्रिय हुन्छन l यिनीहरूको तौल ३६ देखि ४२ किलोग्रामसम्म हुन्छ । खैरो फुस्रो रङ्ग हुने यो प्रजाति को घाँटीको तल पट्टि सेतो रङ हुन्छ भने भाले र पोथी दुवैमा पछाडि घुमेको सिङ हुन्छ। यिनीहरू एकदमै भिरालो ठाउँमा पनि सजिलै जान र चर्न सक्छन्। मध्य पहाडी क्षेत्रमा घोरलहरू चितुवा, ध्वाँसे चितुवा र वन कुकुरको आहारा प्रजाति हो।
नेपालमा हालसम्म ६ वटा संरक्षण क्षेत्र, १ वटा सिकार आरक्ष, १२ वटा राष्ट्रिय निकुञ्ज र १ वन्यजन्तु आरक्षहरू रहेका छन्। नेपालको सबैभन्दा ठुलो संरक्षण क्षेत्र ‘अन्नपूर्ण संरक्षण क्षेत्र’ हो। यसको क्षेत्रफल ७६२९ वर्ग किलोमिटर छ।