PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध



सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए।

सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २ बजेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुन सकेको छैन। मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

'इन्टरनेट नहुँदा प्रशासनको सेवा दिन सकिएन, राष्ट्रिय परिचय विवरण सङ्कलन, नागरिकता विवरणलगायतका काम प्रभावित भयो, सञ्चारविहीन हुनुपरेको छ, निकै समस्या भएको छ,' उनले भने। सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ।

अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख टमटाले जानकारी दिए। भने, 'अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको जानकारी प्राप्त भएको छ। छिट्टै समस्या समाधान हुन्छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell