PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कलाकार एकारामको सम्झनामा बालवाङ्मयको स्मृतिसंग्रह



कलाकार एकारामको सम्झनामा बालवाङ्मयको स्मृतिसंग्रह

काठमाडौं : बालवाङ्मय तथा अनुसन्धान केन्द्रले दिवंगत कलाकार एकाराम सिंको पहिलो पुण्यतिथिमा उनको योगदानको सम्झना गरेको छ। केन्द्रका तत्कालीन महासचिवसमेत उनको कोरोनाका कारण गत जेठ २४ गते निधन भएको थियो।

कार्यक्रममा उनको स्मृतिमा केन्द्रले प्रकाशन गरेको "एकाराम स्मृति" पुस्तकको विमोचनसमेत गरियो। स्मृतिसंग्रहमा १३ स्मरण लेखहरु रहेका छन्।

सोमवार भृकुटीमण्डपस्थित काठमाडौं सार्वजनिक पुस्ताकलालमा भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एकारामको बहुमुखी व्यक्तित्त्वमाथि प्रकाश पार्दै आफूलाई उनले गुरु भने पनि मित्रवत् सम्बन्ध रहेको बताए।

केन्द्रका अध्यक्ष प्रमोद प्रधानले एकारामको योगदानको चर्चा गर्दै विमोचित पुस्तक संस्थाका सदस्यहरूको एकारामप्रतिको स्नेह र सद्भावको प्रतीक भएको बताए।

एकारामकी धर्मपत्नी रतिदेवी सिंले आफ्नो पति अत्यन्त शालीन व्यक्तित्वका धनी हुनुका साथै कलाकार, लेखक, संस्कृति अध्येता र वृत्तचित्र निर्देशक समेत रहेको बताइन्।

कार्यक्रममा केन्द्रका सल्लाहकारहरू प्राडा चूडामणि बन्धु, प्रा रामकुमार पाँडे, सिर्जना शर्मा, पुस्तकालयविद् भोला श्रेष्ठ, बालसाहित्यकार विजयराज न्यौपाने, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयका प्रमुख जुजुभाइ डंगोल र केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्व एकारामसँगका संस्मरण प्रस्तुत गर्दै उनको स्मृतिमा अन्य कार्यहरु गर्नुपर्नेमा जोड दिए। नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राडा ध्रुवकुमार घिमिरे र बालसाहित्यकार नेत्र तामाङले विमोचित पुस्तकको समीक्षा गरेका थिए भने वरिष्ठ बालसाहित्यकार रामबाबु सुवेदीले एकारामबारे लेखिएको कविता वाचन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell