PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

कांग्रेसले दुई - चार सिट बढी जिते पनि हामीले जितेको ठानेको छु : प्रचण्ड, गठबन्धनलाई अझ बलियो बनाउनुछ



कांग्रेसले दुई - चार सिट बढी जिते पनि हामीले जितेको ठानेको छु : प्रचण्ड, गठबन्धनलाई अझ बलियो बनाउनुछ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचनमा परिवर्तनको पक्षधरको जित भएको बताएका छन्। दोलखका माओवादी नेता रितबहादुर खड्काको स्मृति पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसले दुई चार सिट जिते पनि यो जित गठबन्धनको जित भएको बताए।

'परिवर्तनको पक्षधरको वियजी भएको छ। कांग्रेसले दुईचार सिट बढी जिते पनि अर्को पार्टी दुईचार सिट घटी जिते पनि मैले हेर्दा चै यो हामीले जितेको ठान्छु। त्यो हाम्रो लडाईको जित हो,' प्रचण्डले भने, 'कांग्रेसबाट आए पनि दलितको भयो, मुस्लिमको भयो, दलितको भयो, महिलाको भयो। यो कुरा साँचो हो कि त्याग हामीले धेरै गरेकोले धेरै जित्नुपर्छ भन्नु पनि सही हो। तर राष्ट्रको नेतृत्को हैसियतले हेर्दा संविधान बच्यो।'

गत वर्ष एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढालेर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनले नयाँ सरकार बनाएको थियो। पाँच दलीय गठबन्धन संविधान रक्षाको बाटोमा रहेको उल्लेख गर्दै प्रचण्डले अब संघ र प्रदेशको निर्वाचन सफल बनाउनुपर्ने बताए।

'देशमा दम्भी प्रवृत्ति गतसाल देखा पर्‍यो। हामी सबै दम्भविरुद्ध परास्त गर्न हामीले गठबन्धन निर्माण गरेका हौ। गठबन्धनमार्फत संविधानको रक्षा गर्ने उद्देश्यका साथ गठबन्धन गर्‍यौ,' उनले भने, 'संविधानको रक्षा भयो। गणतन्त्रको रक्षा भयो। स्थानीय तहको निर्वाचन पनि सफल भयो। यो निर्वाचनमा हाम्रो लागि कुन पार्टीले कति जित्यो भन्ने त्यति ठुलो कुरा हैन हैन। ठुलो कुरा यही संविधानमार्फत निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। संविधानलाई भाँचभुच पारेर देशलाई अशान्त पार्न खोज्ने शक्ति परास्त भएको छ।'

प्रचण्डले एक्लै अगाडि बढ्ने अहंकर सबैले तोड्नुपर्ने सुझाव प्रस्तुत गरे। 'एक्लै अगाडि बढ्ने अहंकर सबैले तोड्नुपर्छ छोड्नुपर्छ। हामी त्यसै गर्दैछौ। यो गठबन्धन आवश्यकतामा जन्मियो। स्थानीय तहको निर्वाचन सफलतापूर्क सम्पन्न भयो। अब प्रदेश र संघको निर्वाचन पनि सफलता र सहकार्यका साथ सम्पन्न गर्नुछ। र परिवर्तनलाई उल्ट्याउन चाहने प्रवृत्त्रिलाई परास्त गर्नुछ,' उनले भने, 'यो कुनै व्यक्तिका प्रति रिसइबी होइन। शान्तिप्रक्रियालाई अझ बलियो बनाउन गठबन्धनलाई अझ बलियो बनाउनुछ।'

कार्यक्रममा उनले अमेरिसकासँगको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी) सम्झौता कुनै हालतमा अघि नबढ्ने घोषणा गरे। उनले नेकपा एमालेप्रति लक्षित गर्दै राष्ट्रवादको पाखण्डी प्रचारले केही नहुने उल्लेख गर्दै यो सम्झौता केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अघि बढेकोसमेत बताए।

'राष्ट्रवादको पाखण्डी प्रचार गरेको हामीले हिजो पनि देखेको छ। एसपीपी हुँदैछ रे भनेर भइनइ सक्यो रे भनेर प्रचार गर्‍या छ,' प्रचण्णले भने, 'त्यो बिल्कुल झुटो हो त्यो। त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन म घोषणा गर्न चाहन्छु। प्रधानमन्त्रीज्युले कुनै पनि हालतमा त्यस्तो सम्झौतामा जान्न भनेर कमिटमेन्ट गरिसक्नु भएको छ। कोही भ्रममा पर्नुपर्दैन। बरु यो एसपीपी सम्झौता कार्यन्वयन गर्ने काम २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको इतिहास छ।'

अध्यक्ष प्रचण्डले यस्तो कुरामा गठबन्धन कुनै हालतमा नलाग्नेसमेत बताए। उनले अहिलेको गठबन्धन राष्ट्रिय स्वाधीनताको पक्षमा उभिने बताए। 'यो कुरा सबैले बुझ्न जरुरी छ। तर हाम्रो गठबन्धन त्यस्तो कुरामा लाग्दैन। हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन्छ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell