PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निरु न्यौपानेका तीन कृति एकैसाथ सार्वजनिक



निरु न्यौपानेका तीन कृति एकैसाथ सार्वजनिक

काठमाडौं : निरु न्यौपानेको दुई कृति सार्वजनिक गरिएको छ। सोमवार काठमाडौँको लेखनकुञ्जमा आयोजना गरिएको कार्यक्रममा उपन्यास 'अर्को अध्याय' र गजल 'सिरानीको तस्बिर' लोकार्पण गरिएको हो।

कार्यक्रममा प्रा.डा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललिजन रावल, समालोचक ज्ञानु अधिकारी, कवि तथा गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, गायक तथा संगीतकार राज सिग्देललगायत उपस्थित थिए।

कवि तथा गीतकार रमेश पौडेलले निरु न्यौपानेलाई एउटा राम्रो कलमका रुपमा चिनेको बताए।

'उपन्यासमा नेपालदेखि विदेशीएको अनुभव छ। लेखक आफै पनि विभिन्न देश पुगेर संघर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब पाएका छौँ हामीले,' उनले भने।

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक, मानव सम्वेदनाको कृति भएको बताइन्। 'उपन्यासमा माया, विश्वास, सम्बन्ध मुख्य छ। एकपटक पढ्न बसेपछि उठ्न मन लाग्दैन,' उनले भनिन्।

उपन्यास नेपाली महिलाको यथार्थ भएको साहित्यकार तथा समीक्षक रेणुका सोलुले बताइन्।

'अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो। यसले नेपाली समाज र महिलालाई प्रस्तुत गरेको छ,' उनले भनिन्, 'पढ्दै गर्दा परिवारको सकारात्मक भूमिकाले नेपाली समाज त्यस्तै भए हुने नि लाग्छ।'

यौनमात्रै ठूलो कुरा नभएको, विदेशको भोगाइ, पितृसत्तामाथि उठाएको प्रश्न, बिहे आफैमा नराम्रो हैन, छोरालाई नैतिक शिक्षा दिनुपर्छ लगायतका कुराहरू उपन्यासको राम्रो पक्ष रहेको रेणुले बताइन्।

यसैगरी 'सिरानीको तस्बिर' गजल धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए।

'उपन्यास लेख्नु जोखिम कुरा हो, लेखकले राम्रो काम गरेकी छन्,' उनले भने, 'गजल पढेँ, यसमा विषयक विविधता धेरै छ। एउटा गजलकारको लागि राम्रो कुरा हो।'

कार्यक्रममा सर्जक निरू न्यौपानेले आफूलाई किताब लेख्न समर्थन तथा प्रोत्साहन गर्ने सबैलाई धन्यवाद दिइन्। उनले आफू सानैबाट लेख्ने भए पनि अरूलाई नसुनाउने र नदेखाउने व्यक्त गरिन्।

कार्यक्रममा पेशल ढकालको 'हिसाब किताब' बोलको गीत पनि सार्वजनिक गरिएको थियो। गीतको लेखन निरु न्यौपानेले गरेकी हुन् भने राज सिग्देलले गाएका हुन्।

अनुप चौलागाईंले निर्देशन गरेको भिडियोमा गरिमा शर्मा र जीवन भट्टराईको अभिनय रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell