PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

रवीन्द्रपछि रवि लामिछानेलाई मिलन पाण्डेले सम्झाए विवेकशील साझाको हालत : गल्ती दोहोर्‍याउने छुट छैन है!



रवीन्द्रपछि रवि लामिछानेलाई मिलन पाण्डेले सम्झाए विवेकशील साझाको हालत : गल्ती दोहोर्‍याउने छुट छैन है!

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेको केही बेरमा रवि लामिछानेलाई विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्रले शुभकामना दिए। स्थानीय तह निर्वाचनमा पार्टी पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिएका मिश्रले लामिछानेको राजनीतिक यात्राप्रति शुभेच्छा प्रकट गरेका हुन्।

मिश्रले आफूले गरेका गल्तीबाट सिक्न लामिछानेलाई आग्रहसमेत गरे। लामिछानेलाई आफूले सानैदेखि चिनेकाले ‘तिमी’ भनेर सम्बोधन गरेको उल्लेख गरेका छन्।

‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर। तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु,’ मिश्रले भनेका छन्।

लामिछानेले राष्ट्रिय सभागृहमा मंगलवार पार्टी घोषणा गरेका हुन्।

रवि लामिछानेको पार्टीको ७ अवधारणा : कार्यकर्ता नहुने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री

रविन्द्रपछि रविलाई विवेकशील साझाका संयोजक मिलन पाण्डेले पनि नयाँ पार्टी खोलेकोमा शुभकामना दिँदै सुझाव दिएका छन्। सामाजिक फेसबुकबाट रविलाई शुभकामना दिँदै आफूहरुले गरेको गल्ती दोहोर्‍याउने छुट नभएको बताएका छन्।

'मैलेमात्र देश बनाउन सक्छु भन्ने अहंम् त्यागें - उज्वल थापा,' शुरुमै दिवंगत नेता उज्वल थापाको भनाई उद्धृत गर्दै उनले भनेका छन्, 'उज्वल दाइले नेतृत्व हस्तान्तरण गर्दैगर्दा दिएको यो अभिव्यक्ति हाम्रा निम्ति सबैभन्दा महत्त्वपूर्ण प्रशिक्षण रह्यो। देश बन्नुपर्छ, त्यो हामीले नै मात्र वा हाम्रै दलले मात्र बनाउनुपर्छ भन्ने छैन।'

रविले आफ्नो पार्टीबारे एजेन्डा सुनाउँदा विवेकशील अभियानले २०६९ सालमा उठाएको अधिकांश कुरा पाएकोसमेत उनले बताएका छन्। 'रविजीले आफ्नो पार्टीको बारेमा भन्नुभएका केही एजेन्डा सुन्दा उज्वल दाइ/विवेकशील अभियानले २०६९ सालमा उठाएको अधिकांश कुरा पाएँ,' मिलनले भनेका छन्, 'खुसी लाग्यो, प्रारम्भिक एजेन्डाको हिसाबले तपाई सही दिशामा हुनुहुन्छ।'

राजनीतिमा ठुलो नामले भन्दा सामान्य मानिसको नेतृत्व क्षमता आफूले महत्वपूर्ण देखेकोसमेत उनले बताएका छन्। यो कुरालाई नबिर्सनसमेत मिलनले सुझाएका छन्। 'राजनीतिमा ठुलो नाम र ठुलो मान्छेलेभन्दा सामान्य मानिसको असामान्य नेतृत्व क्षमता महत्त्वपूर्ण हुँदो रहेछ। यो कुरा नबिर्सिनुहोला,' उनले भनेका छन्।

राजनीति म्याराथन दौड भएको उल्लेख गर्दै उनले विवेकशील साझाको गल्तीबाट सिक्नसमेत आग्रह गरेका छन्। 'अनि, हतार नगर्नुहोला। राजनीति सय मिटरको रेस होइन, म्याराथन दौड हो। अल्पकालको फाइदाभन्दा, दीर्घकालको परिणामलाई ख्याल गर्नुहोला,' मिलनले भनेका छन्, 'विवेकशीलले विगत १० वर्षमा गरेको राम्रो कामलाई निरन्तरता दिनुहोला। हाम्रा असफलताबाट पाठ सिक्नुहोला। तपाइलाई हामीले गरेका गल्तीहरू दोहोर्‍याउने छुट छैन है।'

उज्वलको निधनपछि विवेकशील साझामा रवीन्द्र र मिलन गुटको टकरावले पार्टीको अवस्था खस्कँदो छ। दुईको टकरावले पार्टी फुटको संघारमा रहेको छ भने केही नेताहरुले पार्टी छाडसकेका छन्।

विवेकशील साझा पत्रकारिता छाडेर रवीन्द्र मिश्रको संयोजकत्वमा गठन भएको पार्टी हो। यही पार्टीको हालत सम्झाउँदै रविलाई मंगलवार सञ्चारकर्मीले प्रश्नसमेत गरेका थिए। 'रवीन्द्र मिश्र र विवेकशील साझाको जस्तो हालत नहोस् भन्ने सुझाव आइरहेको छ नि?' सञ्चारकर्मीले राखेको प्रश्नमा पार्टी दर्तापछि लामिछानेले एजेन्डाले कहिल्यै नहार्ने बताए।

'रवीन्द्र मिश्र र विवेकशीलको के हालत भयो र? उहाँहरुले वैकल्पिक शक्तिका लागि सक्दो योगदान दिनुभएन र? हरेक कालखण्डमा मान्छेले आफूले सक्ने गरेको हुन्छ। सक्ने चिज इमान्दारितापूर्कव उज्वल थापाजीहरु देखि लिएर यो मुभमेन्ट चलेर यसमा इँट्टा थप्ने क्रममा रवीन्द्र मिश्रजीलगायतले विकल्प खोजेर हामी आफ्नो पेशाबाट बाहिर निस्केर आउनुपरेको हो,' लामिछानेले भने, 'त्यसैले म उहाँहरुलाई डिफिटेड क्यान्डिडेट र डिफिटेड टिममा रुपमा हेर्दैहेर्दिनँ। एजेन्डाले कहिल्यै हार्दैन नि। त्यो एजेन्डाले मुर्त रुप लिँदै यहाँसम्म आइपुगेको हैन? त्यस्तो हालत अब कुन हालत कुरा होला एउटै उदाहरण सबैका लागि नहोला। त्यस्तो नहोस् भनेर हाम्ले त कोशिश गरिरहेका छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell