काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महिलालाई उम्मेदवार बनाउन निकै मुश्किल भएको बताएका छन्। आइतवार अखिल नेपाल महिला संघ (समाजवादी) को केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्।
स्थानीय निर्वाचनमा महिलालाई उम्मेदवार बनाउँदा कतिपय ठाउँमा विद्रोह नै भएको नेपालले बताए। 'महिलालाई मेयरको उम्मेदवार दिँदा पनि कति गाह्रो हुँदो रहेछ। झन्डै बिद्रोह नै भयो। जिल्ला अध्यक्षले नै विद्रोहको झण्डा उठाए। पछि पार्टी छाडेर गए। पछि बिजोग भयो,' नेपालले भने, 'जित हाम्रै भयो। ठीक निर्णय भएको रहेछ भन्ने भयो।'
एकीकृत समाजवादीले हेटौंडा उपमहानगरमा मीनाकुमारी लामालाई मेयर उम्मेदवार बनाएपछि मकवानपुरका जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेका थिए। हेटौंडामा एकीकृत समाजवादीकै उम्मेदवार मेयरमा निर्वाचित भइन्।
नेपालले महिलालाई हकअधिकारमात्र हैन कर्तव्य पालनामासमेत अग्रसरता बढाउनुपर्ने धारणा राखे।
नेपालले महिलाका विषयमा विभिन्न मुद्दाहरु उठ्दा पनि आफ्नो पार्टीको महिला संघ भने कतै नदेखिएको गुनासो गरे। 'महिला हिंसाको इस्युमा सडकमा आउनुभएन। कम्तीमा मन्त्रालयमा डेलिगेसन जानुपर्थ्यो। स्मरणपत्र बुझाउन सक्नुपर्थ्यो। पत्रकार सम्मेलन गर्नुपर्थ्यो। मण्डलामा जुलुस गरेर रत्नपार्कमा धेरैभन्दा धेरै जुलुस गर्न सक्नुपर्दछ,' नेपालले भने।