PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

दिलमायाको मृत्यु शंकास्पद भन्दै उनका बुवाले दिए किटानी : नेपालटारमा कोठा, महाराजगञ्जमा भेटियो सल, फोन गायब



दिलमायाको मृत्यु शंकास्पद भन्दै उनका बुवाले दिए किटानी : नेपालटारमा कोठा, महाराजगञ्जमा भेटियो सल, फोन गायब

काठमाडौं : लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको आरोपमा उनका बुवा केसरसिंह कामीले प्रहरीमा किटानी जाहेरी दर्ता गरेका छन्। छोरीको हत्या भएको आरोपमा कामीले सुर्य श्रेष्ठविरूद्ध बालाजु प्रहरीमा उजुरी दर्ता गरेका हुन्।

दिलमायाको मृत्यु शंकास्पद रहेकोले उनका बुवाले किटानी जाहेरी दिएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए।

‘दिलमाया बहिनीको मृत्युको निष्पक्ष छानबिनको माग लिएर हामी बालाजु प्रहरी वृतमा गएका थियौँ। उहाँको बुवा र दिदीहरू आउनुभएको छ। दिलमायाका बुवाले सुर्य श्रेष्ठविरूद्ध किटानी उजुरी दर्ता गराइसकेका छन्। उनको पोस्टमार्टम पनि हुने भनिएको छ,’ बिजीले भने।

दिलमायाको मृत्यु शंकास्पद देखिएको समेत उनले बताए। भन्छन् ‘डीएसपीसँग कुराकानी भएको थियो। दिलमायाको मृत्यु शंकास्पद देखिन्छ। किनकी उनको घाँटीमा पासो लगाएको सल महाराजगञ्जमा भेटिएको छ। साथै घटनास्थलबाट मोबाइल पनि गायब छ।’

प्रहरीले आरोपितलाई पक्राउ गरिसकेको र अनुसन्धान अगाडि बढाएको बालाजु प्रहरी वृतका एसपी दिनेश मैनालीले बताए।

सुनार शनिवार बिहान आफ्नै कोठामा मृतावस्थामा भेटिएकी थिइन्। सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी दिलमायाको फेसबुकबाट शुक्रवार मध्यराति 'सुसाइड नोट' स्टाटस पोस्ट भएको थियो।

प्रहरीले दिलमायाका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ। दिलमायाको मृत्यु शंकास्पद भएसँगै श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दिलमाया पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय थिइन्। राजु परियार लगायतका गायकसँग उनले केही गीतहरूमा स्वर समेत दिएकी छिन्। उनी हालै सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell