काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपालमा संघीयता कमजोर बन्दै गएको दाबी गरेका छन्। यादवले अहिले प्रदेशहरु नाम मात्रको भएको समेत बताएका छन्।
नेकपाका संस्थापक नेता नरबहादुर कार्माचार्यको स्मृतिमा राजधानीको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कार्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यादवले यस्तो बताएका हुन्।
‘प्रदेशहरु नाम मात्रको भएको छ। हाम्रो विश्वास नभएर हो कि। अरु कसैले बोकाएर हो कि’, नेपालमा समाजवाद : चुनौति र सम्भावनाबारे भएको अन्तरक्रियामा यादवले भने, ‘चित्रबहादुर केसीलाई सम्मान गर्न चाहन्छु। उहाँले स्पष्ट पार्नुहुन्छ। अरुले भित्रभित्रै कुहाएका छन्।’
यादवले राणा शासन, राजा शासन अन्त्य भएपनि राजनीतिक मुल्य मान्यता भने परिवर्तन नभएको दावी गरे।
‘हामीकहाँ धेरै परिवर्तन भए। राजतन्त्र गयो। कोर पोलिटिकल भ्यालु भने चेन्ज भएको छैन’, यादवले भने, ‘पृथ्वीनारायण शाहदेखि जुन एलिट ग्रुपको बर्चश्व थियो। त्यो अझै चेन्ज भएको छ। आज पनि एउटै भाषाको साम्राज्य र प्रभुत्व रहेको छ। जहाँ थुप्रै भाषा छन्।’
व्यवस्था परिवर्तन भएपनि संरचना कहिले पनि परिवर्तन नभएको उनको भनाइ थियो।
‘राणाकालदेखि विकास हुँदै आएको स्ट्रक्चर अझै चेन्ज भएको छैन, बरु बलियो हुँदै आएको छ। स्ट्रक्चर डिस्क्रिमिनेसन छ। जुन तह बनाए पनि’, यादवले भने, ‘यो चेन्जका लागि संविधानमा भाइटल चेन्ज आवश्यक छ।’
देशमा संघीय गणतन्त्र खतरामा रहेको यादवले बताए। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमाथि लक्षित गर्दै उनले गणतन्त्रै झन्डै जाला जस्तो भइसकेको थियो भन्ने आरोप लगाए।
‘हाम्रो संघीय गणतन्त्र खतरामा छ। अस्ति त जाला कि भन्ने लागेको थियो। बल्लबल्ल जोगियो,’ यादवले भने।