PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

समाजवादका पाँच आधार प्रस्तुत गर्दै सरकारमाथि एमाले महासचिव पोखरेलको प्रश्न : ८ अर्ब पैसा कहाँ गायब?



समाजवादका पाँच आधार प्रस्तुत गर्दै सरकारमाथि एमाले महासचिव पोखरेलको प्रश्न : ८ अर्ब पैसा कहाँ गायब?

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले देशमा आर्थिक स्थिति ठप्प रहेको उल्लेख गर्दै गठबन्धन सरकारले केही गर्न नसकेको दाबी गरेका छन्। नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नरबहादुर कार्माचार्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्।

सोमवार 'नेपालमा समाजवादः चुनौति र सम्भावना'बारे भएको अन्तरक्रियामा उनले अहिले देशमा पैसा नै नभएको अवस्था आएको उल्लेख गर्दै सरकारमाथि प्रश्नसमेत गरे।

'धेरै आयात गरियो। स्वभाविक रुपमा डलर गयो। क्रिप्टो करेन्सीबाट गयो भनिन्छ। यो पनि डलरमै जान्छ। आज नेपाली बैंकहरुमा नेपाली पैसा छैन। बजारमा पैसा छैन,' महासचिव पोखरेलले भने, 'राष्ट्र बैंकले ८ अर्ब नयाँ नोट जारी गरेको छ। यो पैसा कहाँ छ?'

अहिले देशमा धेरैजसो परियोजना ठप्प रहेको उनको भनाई थियो। 'परियोजना ठप्प छन्। राष्ट्र बैंकले किस्ता नदिँदा,' उनले भने, 'नयाँ व्यवसायी बैंकमा जाँदा ऋण पाउँदैनन्। व्यापार व्यवसाय गर्न चाहनेले ऋण नपाउँदा के हुन्छ देशको हालत?'

बचतकर्ताले पनि जम्मा गरेको पैसा सजिलैसँग पाउन सक्ने अवस्था नरहेको उनको भनाई थियो। 'बचतकर्ताले जम्मा गरेको पैसा पनि सहज ढंगले निकाल्न सक्ने अवस्था छैन। यही गर्न गठबन्धन हो?' पोखरेलले प्रश्न गरे।

पोखरेलले कांग्रेसले जितेमा समाज बुर्जुवा बन्ने र कम्युनिस्टले जिते समाजवादतर्फ जाने दाबी गरे। उनले समाजवादीको आधार नै आर्थिक सबलीकरण भएको बताए। 'कांग्रेसले जिते बुर्जुवा समाजतिर जान्छ, कम्युनिस्टले जिते समाजवाद,' उनले भने, 'समाजवाद निर्माणको आधार अर्थतन्त्र हो। आर्थिक सबलीकरण हो। विभेद अन्त्य भनेको अंशिक हो।'

पोखरेलले समाजवादका पाँच आधारसमेत प्रस्तुत गरे। यसका लागि उनले समान शिक्षा पहिलो आधार भएको बताए।

'समान शिक्षा समाजवादको पहिलो आधार हो। हरेक नागरिकका लागि सामान शिक्षा हुनुपर्छ,' पोखरेलले भने। त्यसैगरी स्वस्थ र सबल नागरिक बलियो राष्ट्र निर्माणको दोस्रो आधार भएको बताए। 'पोषणको सुनिश्चितादेखि आधारभूत स्वास्थ्यले बलियो अर्थतन्त्र निर्माण गर्न सकिन्छ,' उनले भने।

अर्को आधार श्रमसँग यन्त्रउपकरण जोड्नुपर्ने पोखरेलको भनाई राखेका थिए। 'श्रमले मात्र उत्पादन वृद्धि हुँदैन। आज यन्त्रउपकरण जसले प्रयोग गर्न सकिन्छ। उसले उत्पादनमा वृद्धि गर्न सकिन्छ। उनीहरुका काममा सहजीकरण गरेर सामर्थ्य बढाउन सके हाम्रो यात्रा समाजवादतर्फ अघि बढ्छ,' पोखरेलले भने।

चौथो विषय समाजवाद पूँजी निर्माणको सामर्थ्य निर्माण गर्ने भएको उनले बताए। 'त्यसका लागि आम जनतामा बचत संस्कार लानुपर्छ।' उनले श्रमशक्तिको विकास गर्दा कम्युनिस्ट आन्दोलनमा एउटा भनाई स्थापित भएको तर्क गरे।

'कम्युनिस्ट आन्दोलनले सर्वहारा वर्ग जन्माउँछ भन्ने भनाई स्थापित भएको छ। जुन गलत हो। सर्वहारा त पूँजीवादीले जन्माउँछ। आजको श्रमजीवी भोली उद्यमी हुन्छ भन्ने विकल्प हामीले दिनुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell