काठमाडौं : देशभर मनसुनी वायुको प्रभाव रहेकोले विभिन्न स्थानमा वर्षा जारी रहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
'हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।
बुधवार दिउँसो देशभर मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनायो।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।'
त्यसैगरी राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। 'देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाले भनेको छ, 'गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, वाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।'