PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शेखर समूहको बैठकको तरंग : केन्द्रीय समिति डाके देउवाले, 'रचनात्मक विद्रोह'को तयारीमा संस्थापनइतर



शेखर समूहको बैठकको तरंग : केन्द्रीय समिति डाके देउवाले, 'रचनात्मक विद्रोह'को तयारीमा संस्थापनइतर

काठमाडौं : नेपाली कांग्रेस सुस्त गतिमा चल्न थालेपछि संस्थापनइतरका नेताहरु सक्रिय बन्न थालेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै डा शेखर कोइराला समूहले आज भेला डाकेको हो।

राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा साँझ ५ बजेबाट सुरु भएको बैठकमा उपस्थित धेरैजसो नेताहरुले देउवाको कार्यशैलीप्रति असन्तुष्टि पोखे। उनीहरुले देउवाले पार्टीको नेतृत्व गर्न नसकेको आरोपसमेत लगाए।

देउवाले पार्टीमा पुरानै प्रवृत्ति दोहोर्‍याएको उनीहरुको मत थियो। बैठकमा नीति अधिवेशनको विषयसमेत उठ्यो। 'हाम्रो पार्टीले छ महिनाको विधानअनुसार पनि काम गर्न नसक्ने, नीति अधिवेशन गर्ने हाम्रो प्रावधान छ। त्यो पनि गर्न सकेनन्,' नेता चन्द्र भण्डारीले भने।

बैठक भोलि पुनः बस्नेगरि स्थगित भएको छ। करिब २ घण्टा चलेको छलफलमा डा.शेखर पक्षधर नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति देउवालाई रचनात्मक दबाब  दिने निष्कर्ष निकालेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भण्डारीले बैठकमा देशको आर्थिक, समसामयिक राजनीतिक गठबन्धन लगायतका  विषयहरुमा छलफल भएको बताए। उनले छलफलमा पार्टीको आन्तरिक कुरामा पनि जोड दिएको बताए।

‘देशको अहिलेको समसामयिक राजनीति, हाम्रो गठबन्धन, अहिले देशको आर्थिक अवस्था र भोलि हुने निर्वाचनको बारेमा र अहिले देशमा बढ्दै
गएको महंगीको बारेमा हाम्रो लामो छलफल भइरहेको छ। पार्टीको आन्तरिक कुरामा पनि हामीले छलफल गरेका छौँ। यो भोलि २ बजेसम्मलाई स्थगित गरेर त्यसपछि सुरु हुनेछ,' भण्डारीले भने, 'आजको बैठकमा कन्स्ट्रक्टिभ बिद्रोहको पनि कुरा भएको छ। पोलिटिकल सोचाइमा पनि परिवर्तन भएको छ। त्यसको आधारमा हाम्रो विचार समूहलाई कसरी लैजाने भन्ने कुरामा सबैभन्दा महत्वपूर्ण छलफल भएको छ।’

पार्टीमा देउवाले पुरानै प्रवृत्ति दोहोर्‍याउन थालेपछि शेखर समूह अबका दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलमा जुटेको हो। १३औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि कांग्रेसको विधान पालना डामाडोल भएको थियो।

देउवाले विधान पालना नगरेको, भ्रातृ संगठन अस्तव्यस्त पारेको आरोप उनीइतरको पक्षले आरोप लगाएको थियो। यही नारालाई बुलन्द बनाएर १४ औं महाधिवेशनमा देउवालाई कमजोर बनाउन खोजिए पनि उनीइतरका नेताहरु तितरवितर बने र देउवा पुनः सभापतिमा निर्वाचित भए।

सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीसमेत बनेका देउवा गत मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भए। तर देउवाले कांग्रेस केन्द्रीय समितिलाई अझै पूर्णता दिन सकेका छैनन्। कोषाध्यक्ष मनोनीत कहिले गर्ने टुंगो लागेको छैन। ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा १३ जनामात्र मनोनीत गरेका छन्।

तरुण दल र नेविसंघको महाधिवेशनको टुंगो लागेको छैन। भ्रातृ संगठनहरु तदर्थवादमा सञ्चालन हुँदै आएको छ। हाल देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई चयन गरेका छन्। यता आदिवासी जनजाति महासंघमा हालै ओमबहादुर घर्तीमगर र किसान संघको अध्यक्षमा गणेश तिमल्सिनालाई हालै नियुक्त गरेका छन्।

शेखर समूहले बैठक राखेको दिन देउवाले केन्द्रीय समितिको बैठक डाकेका छन्। कांग्रेसको केन्द्रीय समितिको बैठक असार २७ गतेका लागि तोकिएको छ। बैठकमा हालै सम्पन्न स्थानीय निर्वाचनबारे समीक्षा हुने एजेन्डा तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell