PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितकला प्रज्ञा प्रतिष्ठानमा तीन किताब विमोचन



ललितकला प्रज्ञा प्रतिष्ठानमा तीन किताब विमोचन

काठमाडौं : नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले तीन किताब सार्वजनिक गरेको छ। आइतवार प्रतिष्ठानको कार्यालयमा पर्यटन तथा संस्कृति मन्त्री जीवनराम श्रेष्ठले तीन वटै किताब विमोचन गरेका हुन्।

विमोचन भएका किताबमध्ये २ वटा बाल साहित्यको, एक नेपालको कला इतिहासको रहेको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले जानकारी दिए। 'दुई बाल साहित्य र एक कलासम्बन्धी किताब हुन्,' कुलपति कर्माचार्यले भने, 'महत्त्वपूर्ण भनेको दुई बालपुस्तक हुन्।'

बालबालिकालाई भविष्यको लागि कलाको महत्त्वबारे जानकारी दिन दुई किताबमा प्रशस्त ज्ञान भएको उनले बताए। अरनिको किताब वरिष्ठ साहित्यकार रामबाबु सुवेदीले लेखेका हुन्। कलाकार अरनिकोको जीवनीमा आधारित किताबमा कृष्णगोपाल श्रेष्ठको चित्र रहेको छ।

यसैगरी अनाम कथा बाल साहित्यकार विजयराज आचार्यले लेखेका हुन्। किताबमा रवीन्द्र मानन्धरको चित्र रहेको छ। अनाममा चित्रकलाप्रति सोख राख्ने पात्रको कथा रहेको छ।

लोप भएका नेपालका इतिहासिक चित्रकला भने कलाकार एकाराम सिंले लेखेका हुन्। कलाकार सिंको कोरोनाका कारण २०७८ जेठ २४ गते निधन भयो। प्रतिष्ठानमा कलाकार सिंको निधनमा मौनधारणसमेत गरिएको थियो।

किताब प्रकाशनका लागि प्रतिष्ठानले कार्याशाला आयोजना गरेको थियो।

ललितकलाले किताब प्रकाशनलाई निरन्तरता दिएको सदस्य सचिव रमेश खनालले जानकारी दिए। हालसम्म प्रतिष्ठानले ४८ वटा किताब प्रकाशन गरिसकेकोसमेत उनले बताए।

प्रतिष्ठानले बाल साहित्यको क्षेत्रमा किताब प्रकाशन गर्नु नै खुसीको कुरा भएको वरिष्ठ बाल साहित्य सर्जक शान्तदास मानन्धरले बताए। 'ललितकलाले बाल साहित्यको किताब निकाल्नु धेरै खुसीको कुरा हो,' मानन्धरले भने, 'किताबहरु राम्रा छन्। चित्रहरू राम्रो छन्। आँखाबाट सिक्छन् बालकहरु। त्यसका लागि अक्षर राम्रो हुनुपर्छ। त्यसैले शब्द वाक्यहरु राम्रो हुनुपर्छ। किताब राम्रो हुनुपर्छ।'

संस्कृतिविद दिनेशराज पन्तले चित्रकलाबारे किताब आउनु राम्रो विषय भएको बताए। 'लोप भएका नेपालका एतिहासिक चित्रकला किताब राम्रो छ,' पन्तले भने, 'गगरदेखि सागरसम्म राम्रो छ। किताबमा त्रुटी पनि छन्। प्रुफका कुरा ध्यान दिइएको छैन।'

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृतिमन्त्री श्रेष्ठले बाल साहित्य र कला क्षेत्रको पुस्तक प्रकाशनका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए। नेपाली समाजका कलाकृति संरक्षणका लागि ललितकलाले गरेको योगदानको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले आफू सहजीकरण गर्न तयार रहेको बताए। 'मन्त्री आउने जाने भइरहने भएकोले यो क्षेत्रको कामलाई सरकारको तर्फबाट गर्नुपर्ने काममा सहजीकरण गर्ने काम हुन्छ,' श्रेष्ठले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell