PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंज घण्टाघरको सडक बल्ल भयो कालोपत्रे



वीरगंज घण्टाघरको सडक बल्ल भयो कालोपत्रे

वीरगंज : वीरगंजको मुटु मानिने घण्टाघर क्षेत्रको सडक करिब एक वर्षपछि कालोपत्रे भएको छ। वीरगंज महानगरको करिब १६ लाखको बजेटमा एक सय २० मिटर लम्बाईको सडक कालोपत्रे गरिएको हो।

महानगरको मेयरमा निर्वाचित भएसँगै राजेशमान सिंहले सडक कालोपत्रे गर्ने प्रतिवद्धता गरेका थिए। संघ सरकारको सडक विभागको स्वामित्वमा पर्ने करिब २५ मिटर चौडा सडक एक वर्षदेखि मर्मतसम्भार हुन नसक्दा खाल्डाखुल्डी बढेको थियो। मेयर सिंहकै निर्देशनमा सडक कालोपत्रे गरिएको वीरगंज महानगरका योजना महाशाखा प्रमुख इन्जिनियर राजेश्वर प्रसाद चौरसियाले जानकारी गराए।

उक्त सडक मर्मतसम्भारमा संघ सरकारको सडक विभाग मातहत रहेको व्यापारिक मार्ग विस्तार आयोजना पथलैया कार्यालयले अवरोध सृजना गरेको भन्दै पूर्व मेयर विजयकुमार सरावगीले काम गर्न छाडेका थिए। संघीय सरकारको सडकमा काम गर्दा अख्यितारमा मुद्दा हाल्ने, बेरुजी पर्ने डरले उनले काम रोकेका थिए।

मेयर सिंहले पनि काम थाल्दा पनि अख्तियारमा बेनामी उजुरी परेको थियो। जसले गर्दा सिंहले पनि अख्तियार धाउनु परेको थियो। वीरगंज माइस्थानदेखि घण्टाघर सम्मको सडक मर्मत गर्नूपर्ने ठेक्का पनि १ प्रतिशत लागत इस्टिमेटभन्दा बढीमा टेण्डर हालेको कारण रद्द भएको थियो। जसले गर्दा मेयरले अग्रसरता लिएर सडक मर्मतसम्भारमा जुटेका थिए।

त्यसैगरी, घण्टाघरको सडक कालोपत्रे भएपछि मितेरी पुल मर्मत सम्भारको लागि पहल थालेका छन्। उनको अनुरोधमा सडक विभाग मतहतको व्यापारिक मार्ग विस्तार आयोजना पथलैयाले ग्राभेल हालेर मितेरी पुलको खाल्डाखुल्डी पुर्ने काम थालेको व्यापारिक मार्ग विस्तार आयोजनाका प्रमुख मनीषकुमार साहले बताए। ‘शुक्रवार पुलमा खाल्डोमा एउटा टेम्पो पल्टिँदा एकजना महिला घाइते हुनुभयो, त्यसैले तत्काल मर्मत गर्न थालेका छौं,’ उनले भने, ‘यसमा वीरगंजका मेयर साहेब पनि सघाइरहनु भएको छ।’

उनले रजतजयन्ती चोकदेखि मितेरी पुलसम्मको करिब ८ सय मिटर लम्बाईको ठेक्का लागेर समा कन्सट्रक्सनलाई करिब ४ करोडको ठेक्का परेको छ। तर केही ठेकेदारले ठेक्कामा मिलोमत्तो भएको भन्दै सर्वोच्चमा रिट गरेकोले मुद्दा टुङ्गो नलागुन्जेलसम्म काम नभएको बताए। उनले रिट टुंगो लागेपछि काम शुरु हुने बताए। उनले उक्त क्षेत्रको सडक कालोपत्रे हुन करिब दुई तीन महिना समय लाग्न सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell