PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विद्युतको पोल ढलेपछि चार दिनदेखि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्रमा अन्धकार



विद्युतको पोल ढलेपछि चार दिनदेखि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्रमा अन्धकार
FILE PHOTO

काठमाडौं : उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युतको पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन्।

त्रियुगा -२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ बिजुली छैन। भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक-पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताए।

शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी-१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो।  चौदण्डी-२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्छन्, ‘चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौं। विद्युत् प्राधिकरणलाई पटक-पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौं। तर अहिलेसम्म बिजुली बलेको छैन।’

यता, प्राधिकरणका अधिकारीहरु भने तीव्ररुपमा काम अघि बढेको दाबी गर्छन्।

विद्युत् प्राधिकरण गाईघाटका इञ्जीनियर सत्यनारायण साहले भने, ‘बाढीले धेरै पोल ढालेर क्षति पुर्‍याएको छ। दिनरात आफूहरूको थोरै जनशक्तिले खटेर तीव्ररूपमा काम गरिरहेका छौं।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell