काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले भोलिका लागि केन्द्रीय समिति बैठक डाकेको छ। सोमवार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने बैठकमा स्थानीय तह निर्वाचन - २०७९ को समीक्षा हुने कार्यसूची रहेको छ।
केन्द्रीय समिति बैठक अघि कांग्रेसले पदाधिकारी तथा पूर्वपधादिकारीको बैठक डाकेको छ। आइतवार दिउँसो १ बजे सानेपामा पदाधिकारीको बैठक डाकिएको हो। केन्द्रीय समिति बैठकअघि आवश्यक तयारीका लागि कांग्रेसले पदाधिकारी बैठक राख्दै आएको छ।
त्यसैगरी शेखर कोइराला समूहले पनि आजै दिउँसो १ बजे आफ्नो पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक डाकेको छ। बालुवाटारस्थित शेखरको सचिवालयमा बैठक बस्ने तय भएको एक नेताले बताए। यसअघि असार १६ र १७ गते शेखर समूहले बत्तीसपुतलीमा बैठक राखी सभापति देउवाको आलोचना गरेका थिए। शेखर समूहले देउवा गठबन्धनको सभापति भएको आरोप लगाएका थिए।
देउवाले भ्रातृ संस्थाहरु लथालिंगा पारेको आरोप लाग्दै आएको छ। कतिपय संस्थाहरु अहिले भंग भएको अवस्था छ भने तरुण दल र नेविसंघ तथर्दवादमा सञ्चालन हुँदै आएको छ।
सत्ता गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्रीसमेत बनेका देउवा गत मंसिरमा सम्पन्न महाधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भए। तर देउवाले कांग्रेस केन्द्रीय समितिलाई अझै पूर्णता दिन सकेका छैनन्। कोषाध्यक्ष मनोनीत कहिले गर्ने टुंगो लागेको छैन। ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा १३ जनामात्र मनोनीत गरेका छन्।
तरुण दल र नेविसंघको महाधिवेशनको टुंगो लागेको छैन। हाल देउवाले तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पालाई चयन गरेका छन्। यता आदिवासी जनजाति महासंघमा हालै ओमबहादुर घर्तीमगर र किसान संघको अध्यक्षमा गणेश तिमल्सिनालाई हालै नियुक्त गरेका छन्।