काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर रहेको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशका नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले आदिकवि भानुभक्तका कविताले तत्कालीन नेपाली समाजको यथार्थलाई सरल तरिकाले चित्रण गर्नुका साथै समाजका लागि शिक्षा र सकरात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे। भाषिक एकीकरणका नायक भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन योगदान पुयाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले रसिला साहित्यिक रचनाको माध्यमबाट आध्यात्मिक चेतना र जागरण फैलाई समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न आदिकवि भानुभक्तले पुर्याउनुभएको योगदानको प्रशंसासमेत गरे।
आदिकवि भानुभक्तले रामायणजस्तो मौलिक, सांस्कृतिक महाकाव्यका साथै प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, रामगीताजस्ता काव्य र उल्लेख्य फुटकर कविताको रचना गरेर नेपाली काव्य साहित्यको बलियो जग बसालेका छन्। नेपाली भाषामा पहिलो महाकाव्य सिर्जना गर्ने उनी सबैका लागि आदरणीय व्यक्तित्व हुन्।
आदिकवि भानुभक्तका रामायणलगायत कालजयी साहित्यिक कृतिहरू अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेका उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्तीको अवसरमा उनलाई श्रद्धापूर्वक स्मरण गरेका छन्। प्रधानमन्त्री देउवाले यो दिवसले आदिकवि भानुभक्तको जीवनी र चरित्रबाट शिक्षा लिँदै सबैलाई नेपाली भाषा साहित्यको श्रीवृद्धिमा निरन्तर समर्पित रहन प्रेरणा प्रदान गरोस् भन्दै उनीप्रति उच्च सम्मानसहित श्रद्धाञ्जलि अर्पण गरेका छन्।
आदिकविको जन्मजयन्ती मनाइँदै
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनी‘रामायण’ लाई भानुभक्तले भावानुवादसहित अनुवाद गरेका हुन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको बताइन्छ।
‘बधुशिक्षा’ भनुभक्तको अर्को प्रसिद्ध कृति हो। यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन्। कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा परेका आदिकवि आचार्यले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेखिएको थियो– ‘भोलिभोलि भन्दैमा सव घर बितिगो बक्सियोस् आज झोली’।
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ।
यस उपलक्ष्यमा आज बिहान काठमाडौँको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको बताइएको छ। घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानुजयन्ती मनाइन्छ। यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन्। भानुभक्तभन्दा अघि नै नेपाली भाषामा कविता लेख्ने कवि भएकाले उनलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन्। भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गरेकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउँछन्। रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ।
भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो। भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी रहेका देश एवं स्थानमा समेत मनाउने गरिएको छ। रासस