PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भानु जयन्तीमा प्रधानमन्त्री देउवा : राष्ट्रिय विभूतिको अध्ययनका लागि सहयोग गर्न सरकार तयार



भानु जयन्तीमा प्रधानमन्त्री देउवा : राष्ट्रिय विभूतिको अध्ययनका लागि सहयोग गर्न सरकार तयार

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन, अनुसन्धान र प्रकाशनका लागि सरकार सकारात्मक रहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित २०९ औँ भानु जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय विभूतिहरुको अध्ययन र अनुसन्धान गर्न सरकार सहयोगका लागि सकारात्मक रहेको बताएका हुन्।

'आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न, आदर्श चरित्रमा परिणत गरी भानुभक्त नेपाली भाषाका आदिकवि मात्र नभएर सामाजिक र सांस्कृतिक जागरणका एक सशक्त धरोहरसमेत हुनुहुन्छ,' प्रधानमन्त्री देउवाले भने, 'यस्ता राष्ट्रिय विभूति भानुभक्तको जन्मजयन्ती मनाउनु, उहाँको जीवनी र योगदानको चर्चा गर्नु, नयाँ पुस्तालाई उहाँको योगदानका बारेमा जानकारी दिनु र उहाँलाई श्रद्धापूर्वक सम्मान गर्नु हामी सबैको साझा दायित्व हो। राष्ट्रिय विभूतिहरुको विषयमा गरिने अध्ययन, अनुसन्धान, गोष्ठी, कार्यशाला प्रकाशन आदिका लागि सरकार आवश्यक सहयोग गर्न सकारात्मक रहेको छ।’

देउवाले राष्ट्रिय विभूति भानुभक्तको योगदानको बारेमा नयाँ पुस्तालाई जानकारी दिनु आवश्यक रहेको उल्लेख गर्दै आदिकविलाई श्रद्धापूर्वक सम्मान गर्नु सबैको साझा दायित्व भएको बताए। आदिकवि भानुभक्तले नेपालमा आफ्ना साहत्यिक कृतिहरुका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न प्रेरित गरेको देउवाको भनाई थियो।

‘भाषिक एकीकरणका नायक आदिकवि भानुभक्तबाट सिर्जित साहित्यिक रचनाले मेचीदेखि महाकालीसम्मको नेपाललाई एउटै भाषिक रुपमा आवद्ध गरी नेपालको राष्ट्रिय एकता थप मजबुत बनाउन ठूलो योगदान पुर्‍याउनुभएको छ,' देउवाले भने, 'विभिन्न राज्यहरुको विभाजित भूगोललाई एकीकरण गर्दै अघि बढेको तत्कालीन संघर्षपूर्ण नेपालमा आदिकवि भानुभक्त आचार्यले रामायण लगायतका रसिला साहित्यिक रचनाको माध्यमबाट आधुनिक चेतना र जागरण फैलाइ समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी राष्ट्रिय एकताको भावनालाई सुदृढ तुल्याउन अनतुलनीत योगदान पुर्‍याउनुभएको हो।'

प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा रहेको आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेका थिए। भानुभक्तको जन्म जयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठानले प्रभतफेरि कार्यक्रमसमेत गरेको थियो। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell