काठमाडौं : नेकपा एमालेको आर्थिक विभागका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै उनको राजीनामाको माग सडकदेखि सदनसम्म उठ्न थालेको छ। यसै विषयमा राजनीतिक दलका नेताहरुले समेत एमालेमा उनको संलग्नताबारे छानबिन हुनुपर्ने माग गरेका छन्। तर एमालेले भने गभर्नर अधिकारी एमालेको आर्थिक विभागको सदस्य नरहेको स्पष्टीकरण दिएको छ।
यही प्रसंगमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको आज बालुवाटारमा बसेको बैठकमा चर्चा चलेको बताइएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नेताहरुले गभर्नरको राजीनामा माग गरेको बताइएको छ। यद्यपि कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने आजको बैठकमा यस विषयमा कुनै कुराकानी नभएको जिकिर गरे।
प्रधानमन्त्रीले गभर्नरको राजीनामा माग्नुभएको हो? जवाफमा उपसभापति खड्काले सत्ता गठबन्धनको शीर्ष नेताको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबारेको विधेयकबारेमात्र छलफल भएको दाबी गरे। गभर्नरको राजीनामासम्बन्धी प्रश्नमा खड्काको जवाफ थियो ‘कहाँबाट गभर्नरको कुरा हुन्छ? आज टिआरसी विधेयक ऐन संशोधनकोबारेमामा कुरा भएको हो। यो अगाडि बढ्छ। यति हो।‘