जनकपुरधाम : सीके राउत नेतृत्वको जनमत पार्टीले मतदाता नामावली संकलनको समय थप गर्न माग गरेको छ। धेरै जना योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो।
मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको हो। शुक्रवार मधेश प्रदेश निर्वाचनका प्रमुख श्रीधर पन्थीलाई ज्ञापनपत्र बुझाँउदै जनमत पार्टीले अहिले पनि जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावलीमा नाम समावेश गराउनेहरुको भिड बढी रहेको जनाएको छ।
साथै जनमत पार्टीले पालिका स्तरमा पुगेर फोटो सहितको मतदाता नामावली संकलन गर्न माग गरेको नेता बीपी साहले जानकारी दिएका छन्। स्थानीय स्तरमा प्रचारप्रसार नहुदा धेरै योग्य नागरिकहरुलाई मतदाता नामावलीमा नाम लेखाउने कार्यबारे जानकारीसमेत नभएकोले स्थानीय स्तरमा प्रचारप्रसार गर्न पार्टीले माग गरेको साहले बताए।
यसैगरी जनमत पार्टीले मधेश प्रदेशलगायतमा पनि अनलाइन प्रणालीबाट मतदाता नामावली संकलन गर्न माग गरेको छ। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअघि मतदाता नामावली संकलन भइरहेको छ। असार मसान्तसम्म मात्र नाम संकलन हुने निर्वाचन आयोगले जनाएको छ।