PahiloPost

Oct 18, 2024 | २ कात्तिक २०८१

आफ्नै भित्रको कस्तुरी चिन्न नसक्ने काङ्ग्रेस



आफ्नै भित्रको कस्तुरी चिन्न नसक्ने काङ्ग्रेस

  • सुभाषचन्द्र देवकोटा-

'किन चाउरिस् मरीच, आफ्नै पिरोले' भन्ने नेपाली उखान अहिले ठयाँक्कै नेपाली काङ्ग्रेसँग मेल खाएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवा राजनीति त्यसमा पनि लामो सयमसम्म सत्ताको नेतृत्व गरेर देशमा शासन चलाएको राजनैतिक दल आफ्नै अकर्मन्यताले गर्दा लज्जावती झार झै ओइलाएको छ। हिजोका दिनका समिक्षा गरेर आगामी चुनावको तयारीमा जुट्नुपर्ने बेला घर झगडामा अल्झिएको छ। नेताहरु भने गल्तीहरु जती सबै अर्काको टाउकोमा थोपरेर पानी माथिको ओभानो देखिने कसरतमा लागेका छन्।

संसदीय व्यवस्थाको सबैभन्दा जेठोपाको राजनैतिक दल भनिए पनि नेपाली काङ्ग्रेसले समसामयिक राजनीतिमा आफूलाई उम्दा सावित गर्न सकेको छैन। नेपाली लोकतान्त्रको पाठशाला रुपमा स्थापित हुनुपर्ने राजनीति संस्था व्यक्तिगत कुण्ठा र स्वार्थमा रुमलिएको छ। न हिजोको गौरव बोक्न सकेको छ न त आज राजनीतिमा कुनै नयाँ आयाम थप्न सकेको छ।

संसदीय राजनीतिमा पनि काङ्ग्रेसको उपस्थिति कमजोर देखिएको छ। स्पष्ट दृष्टिकोण नहुँदा कयौं सवालहरुमा काङ्ग्रेस चुकेको छ। बालुवाटार जग्गा प्रकरण, वाइड बडी जहाज खरिद प्रकरण र हालैको बजेट निर्माणका बखत मध्य रातमा सिंहदरबारभित्र व्यापारीको आदेशमा कर हेरफेर गरेको घटनाजस्ता धेरै यस्ता विषयहरुमा काङ्ग्रेसले देखाएको मौनताले उस भित्रको  अपारदर्शी, भ्रष्टाचारी र व्यक्ति केन्द्रित प्रवृत्ति छरपष्ट भएको छ। देशका यस्ता जल्दाबल्दा सवालहरुमा काङ्ग्रेसको अकर्मण्यताले काङ्ग्रेसको राजनीति कद बढाएको छैन। यसरी सार्बजनिक तवरबाटै कुरीकुरीको अवस्थासम्म आइपुग्दा पनि काङ्ग्रेसी नेताहरुको चेत खुलेको पनि देखिदैन। आफ्आफै बीच घाँटी कोराकोर गर्नमा नै व्यस्त देखिएका छन्। एकले अर्काको मानमर्दन गर्न मौकाको ताकमा बसेका छन्। तर कसैले पनि राजनीति विचार, लोकतान्त्रिक मर्यादा र पार्टी सुदृढिकरणका सवालमा छलफल गरेको देखिदैन।

सत्ता र गुट राजनीति खेलमा निपुण काङ्ग्रेसका नेताहरुको लागि विचार र निष्ठाको राजनीति कुरा दन्त्य कथाजस्तो भएको छ। विपिले व्याख्या गरेको समाजवाद र विपिको समाज परिवर्तनको सपना अब भाषणको लागि एउटा राम्रो तुक्कामात्र भएको छ। गणेशमानको राष्ट्रिवादी अडानालाई आत्मासात गर्न सक्ने हिम्मतिलो काङ्ग्रेस पाउनु अब दुर्लभ भएको छ।

विपिले स्वाधीन अर्थतन्त्र र स्वावलम्बी नेपाल बनाउने समाजवादी सपना देखेका थिए। तर काङ्ग्रेस स्वंय नेतृत्वमा बनेका नव उदारवादी आर्थिक, औद्योगिक, र विकासका नीतिहरुले स्वाधीन अर्थतन्त्र र स्वाबलम्बी नेपाल निर्माण गर्ने विपिको समाजवादी सपनालाई निषेध गरियो। जसको परिणाम आज देश परनिर्भर बन्न पुगेको छ। जनताका समृद्धिका सपना भताभुंग भएको छ।

विपि कोइराला समाजवाद किसान र मजदूरहरुको संमृद्धिसँग जोडिएको थियो। त्यसैले उनी देशको विकासलाई हलो जोत्ने किसानको आँखेले हेर्नु पर्दछ भन्ने धारणा राख्थे। तर दूर्भाग्य, आज उनै विपिको काङ्ग्रेसले सरकारको नेतृत्व गरिरहँदा मलको अभावमा किसानहरु सडकमा संघर्ष गरिरहनु परेको छ। अभाव र वेरोजगारीको मारमा परेका किसानका छोराछोरीहरु रोजगारीको खोजमा मलेसिया र खाँडीका देशहरुमा घरखेत धितो राखेर जानु पर्ने अवस्था सृजना भएको छ।

राष्ट्रियतालाई काङ्ग्रेसले आफ्नो राजनीति नारा बनाएको भएता पनि देशको स्वाधीनताको सवालमा काङ्ग्रेस नै सबैभन्दा धेरै चुकेको छ। बिगत इतिहासका कुरा त परै जाओस्, २०७२ सालमा संविधान घोषणाको रिसमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई नाकाबन्दी भन्ने हिम्मतसमेत नेपाली काङ्ग्रेसभित्र कसैले देखाउन सकेन। देशको राष्ट्रियताको सवालमा देखिएको यस्तो लैवरी तालले काङ्ग्रेसको साख उठ्ने कुरै भएन। समय बदलिएसँगै जनताको राष्ट्रियताप्रतिको स्वभाव पनि बदलिएको छ। तर काङ्ग्रेस बदलिन सकेको छैन। चन्द्र भण्डारीहरुलाई पाखा लगाएर अमरेश कुमारहरुले देखाएको बाटो हिँडेर देशको स्वाधीनताको रक्षा गर्न र जनताको मन जित्न सकिदैन भन्ने कुरा काङ्ग्रेस नेतृत्वले अझै बुझेको छैन।

सबैलाई थाहा छ, आजका काङ्ग्रेसी नेताहरु दम्भी, आत्मकेन्द्रीत र स्वार्थी भएका छन्। पार्टीलाई आफ्नो जमिन्दारी ठान्नेहरूको कमी छैन। त्यही जमिन्दारी स्वीकार नगर्दा सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पटक पटक पार्टीभित्रै हार्नु परेको थियो। २०४६ सालको जनआन्दोलनका नायक गणेशमान जस्ता जब्बर, त्यागी र जनप्रिय नेताले समेत काङ्ग्रेस पाटीबाट वेदखल हुनु परेको कारुणिक क्षण पनि हामीले सबैले देखेकै हो। यस्तो परपीडक चरित्रले कसैलाई पटकपटक सत्ता सुख त दिलायो। तर समग्रमा काङ्ग्रेसमा विपिले स्थापित गरेको संस्कार र मान्यताहरुलाई भने स्थापित गर्न सकेन। जसको असर आजको काङ्ग्रेसले पनि भोगिरहेकै छ।

देशमा संघीय गणतन्त्रको स्थापना र संविधानमार्फत यसलाई संस्थागत गर्ने अभ्यासमा नेपाली काङ्ग्रेसको योगदान अतुलनिय छ। विभिन्न तहका सरकारहरु नीति तथा ऐन, कानुनहरु बनाउने चटारोमा छन्। यस्तो महत्वपूर्ण समयमा काङ्ग्रेस भने आफ्नै घर झगडामा अलमलिएको छ। राज्यको संघीय संरचना एबं संविधानका मूल्य मान्यताहरुलाई स्थापित तथा सुदृढिकरणका लागि ठोस कार्यक्रम दिन सकेको छैन। संसदमा पेस गरिएका विधेयकहरुमाथि आफ्ना अडानहरु स्पष्ट पार्न सकेको छैन। महंगी, बेरोजगार तथा भ्रष्टाचार जस्ता जनसरोकारका सवालहरुमा समेत हातबाँधेर बसेको छ।

यसमा शंका गर्ने ठाँउ छैन। आजको काङ्ग्रेस भनेको अनगिन्ती नेता तथा कार्यकर्ताहरुको योगदानहरुको शृंखला हो। त्यसैले काङ्ग्रेसको गन्तव्य तीनै कार्यकर्ताहरुको सपनाको हुनुपर्ने थियो। तर आजको काँग्रेले त्यो योगदान र सपनाको ओजलाई थाम्न सकेको छैन।

दशतिर फर्केका काङ्ग्रेसका बुढा नेताहरु र तीनै नेताहरुको फेरो समातेर वैतरणी तर्ने ताकमा बसेका युवा भनाउँदा नेताहरुबाट काङ्ग्रेसको डुङ्गा पार लाग्ला त? यो सर्बत्र चर्चाको विषय भएको छ। विपि र गणेशमानले कोरेको आदर्शको मूलबाटोबाट भड्किएको काङ्ग्रेस वैचारिक रुपले नवउदारवाद र व्यक्तिगत रुपले नवसामन्तहरुको चंगुलमा नराम्ररी फसेको छ। परिणामत: विचारविहिन र व्यपारिहरुको स्वार्थी भिडमा परिणत भएको छ। पार्टीभित्र यी नै स्वार्थी गुटबाजहरुको चुरीफुरी बढ्दै जाँदा लोकतान्त्रिक आन्दोलनको अगुवा काङ्ग्रेस भने खिईदै गएको छ। विडम्बना, चुनावमा समेत एक्लै उठ्ने आँट गर्न छोडेको छ। आफै भित्रका चन्द्र भण्डारीहरु जस्ता कस्तुरी चिन्न नसक्ने काङ्ग्रेस नेतृत्व सूर्यबहादुर थापाको विरासत थाम्न भौतारिएको छ।

अन्तमा, कुनै बेला विपि कोइरालाले भनेका थिए 'नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता, या त चरम अवसरवादी हुन् या दास हुन्।' कतै आजको काङ्ग्रेस विपिले भनेजस्तै दासहरुको पार्टी त भएको छैन? आत्मसमिक्षा गर्ने बेला भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell