PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अर्थतन्त्रमा देखिएको संकटबारे श्वेतपत्र जारी गर्न सरकारलाई कांग्रेसको आग्रह, सुशासनमा जोड दिन विशेष ध्यानाकर्षण



अर्थतन्त्रमा देखिएको संकटबारे श्वेतपत्र जारी गर्न सरकारलाई कांग्रेसको आग्रह, सुशासनमा जोड दिन विशेष ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेसले देशको आर्थिक अवस्थाबारे यथार्थ जानकारीसहितको श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस केन्द्रीय समितिले देशमा आइपरेको आर्थिक संकटबारे अस्वभाविक ढंगमा भय सिर्जना गर्ने काम भइरहेकोले यथार्थ जानकारी दिन सरकारसँग आग्रह गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

'देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढङ्गले भय सिर्जना गर्ने काम भैरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ, चुनौतीहरु के छन्, जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छलगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसँग आग्रह गर्दछ,' कांग्रेस केन्द्रीय समितिको निर्णय सुनाउँदै प्रवक्ता महतले भने।

त्यसैगरी कांग्रेसले सुशासनमा ध्यान दिन सरकारको विशेष ध्यानाकर्षण गराएको छ। 'अनेक राजनैतिक चुनौती पार गर्दै मुलकलाई सहि मार्गमा ल्याई पुऱ्याउन सफल नेतृत्व गरेको नेपाली कांग्रेसको नेतृत्वमा विद्यमान आर्थिक चुनौतीलाई सामना गर्दै मुलुकको आर्थिक विकास र समुन्नति यात्रालाई सार्थक गति दिन सकिन्छ र त्यो नै आजको प्रधान कार्यभार हो भन्ने आग्रह साथ यो बैठक जनजीविका र सुशासन लगायत निम्न विषयमा सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छ,' कांग्रेसले भनेको छ।

यस्ता छन् सरकारलाई कांग्रेसका सुझाव

  • पूर्ववर्ती सरकारले संविधानको मर्म विपरित संवैधानिक परिषद् सम्बन्धी अध्यादेश लगायत विविध विषयमा ल्याएका प्रस्ताव र निर्णयहरुका विरुद्ध उभिएको स्मरण गर्दै यस्ता महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुनेगरी सरकारले निर्णय लिने कुरामा नेपाली कांग्रेस विश्वास गर्दछ ।
  • देशको विद्यमान आर्थिक अवस्थालाई लिएर आम नागरिकमा अस्वभाविक ढङ्गले भय सृजन गर्ने काम भैरहेकोमा सरकारले आम नागरिकलाई अर्थतन्त्रको अहिलेको वास्तविक अवस्था के छ, मुख्य समस्या कहाँ छ चनौतीहरु के छन, जोखिम न्यूनिकरण गर्न के गर्न सकिन्छ लगायतका विषयमा श्वेतपत्र जारी गरी यथार्थ सार्वजनिक गर्न आग्रह गर्दछ तथा अर्थतन्त्रमा देखिएका समस्यालाई सम्बोधन गर्न आवश्यक कार्य योजना तयार गरि कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्दछ। सुशासन कायम गर्ने सन्दर्भमा 'शुन्य सहनशीलता' नीति अंगिकार गरी व्यवहारिक कार्यान्वयन गर्न तथा पारदर्शिता कायम गर्न र गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने अवस्थाको सिर्जना गर्न सरकारले कुनै कसर बाँकी नराख्न यो बैठक आग्रह गर्दछ।
  • महंगी, कालोबजारी, मलको अभावलगायत जनजीविकाका सवालहरूमा सरकारले विशेष ध्यान दिई जनताले दैनिक रुपमा भोग्नुपरेका समस्या, प्रकृयागत झन्झट र अप्ठ्याराहरूलाई सहज बनाउन र जनताको साथमा सरकार छ भन्ने अनुभूति दिलाइरहन सरकार थप क्रियाशील हुन यो बैठक आग्रह पर्दछ। खेतीको समयमा हरेक वर्ष नेपाली किसानहरुले भोग्नुपरेको मलको अभाव अन्त्य गर्न दीर्घकालीन समाधानको उपाय अवलम्बन गर्न यो बैठक सरकार समक्ष आग्रह गर्दछ।
  • नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था बमोजिम संसदमा प्रस्तुत नागरिकता सम्बन्धी विधेयकलाई संसदबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराउँदछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell