PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

‘इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ मंकिपक्सको अवस्था कस्तो छ? यस्ता छन् डब्लुएचओका निर्देशन



‘इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’ मंकिपक्सको अवस्था कस्तो छ? यस्ता छन् डब्लुएचओका निर्देशन

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंकिफक्सलाई ‘पब्लिक हेल्थ इमरजेन्सी अफ इन्टरनेशनल कन्सर्न’को रुपमा घोषणा गरेको छ। डब्लुएचओको इन्टरनेशनल हेल्थ रेगुलेसन इमरजेन्सी कमिटीको दोस्रो बैठकमा महासचिव डा टेड्रोस अधानोम घेब्रेयससले यस्तो घोषणा गरेका हुन्।

अस्थायी रुपमा जारी गरिएको घोषणाले देशहरुलाई चार समूहमा विभाजन गरेको छ। जसमध्ये समूह १ मा हालसम्म मानिसमा मंकिपक्स नदेखिका देशहरु वा पछिल्लो २१ दिनमा कुनै पनि मानवमा यसको संक्रमण पुष्टि नभएका देशहरुलाई राखिएको छ।

त्यस्तै, समूह २ मा हालसालै मंकिपक्सका इम्पोर्टेड केसहरु पुष्टि भएका देशहरु वा मानिसदेखि मानिसमा मंकिपक्स भाइरसको संक्रमण सरेका देशहरु जहाँ जनसंख्याको समूह वा समुदाय उच्च जोखिममा छन्।

त्यस्तै, समूह ३ मा विगतमा कुनै पनि जनावर प्रजातिमा मंकिपक्स भाइरसको उपस्थिति रेकर्ड भएका र जनावरहरूको संक्रमण भएका,  मंकिपक्सको जुनोटिक ट्रान्सिमसन भएको थाहा भएका वा विगतमा रिपोर्ट गरिएका नयाँ प्रभावित देशहरू सहितका मंकिपक्सको जुनोटिक प्रसारण भएको पत्ता लागेका वा सम्भावित देश तथा पक्षरूलाई समावेश गरिएको छ।

समूह ४ मा भने स्वास्थ्य प्रतिरोधी उपायहरु तथा औषधि उत्पादन क्षमता भएका देशहरुलाई राखिएको छ।

कस्तो छ संक्रमणको अवस्था?

डब्लुएचओको पछिल्लो तथ्यांक अनुसार जनवरी १ देखि जुलाई २० सम्म विश्वभर १४ हजार ५३३ जना संक्रमित पहिचान भएका छन्। जसमध्ये नाइजेरियामा ३ र सेन्ट्रल अफ्रिकन रिपब्लिकमा २ जनाको मृत्यु भएको छ।

हालसम्म यसको संक्रमण ७२ देशमा पुगेको छ। यो संक्रमण मे सम्ममा ४७ देशमा ३ हजार ४०मा देखिएको थियो। यो दुई महिनामा बढेर साढे १४ हजार पुगेको छ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को तथ्यांक अनुसार जुलाई २२ सम्मको तथ्यांकमा विश्वभर १६ हजार ८३६ जनामा यसको संक्रमण देखिएको छ।

यसमध्ये १६ हजार ५९३ संक्रमण यस्ता देशहरुमा देखिएको छ जहाँ यसअघि मंकिपक्स देखिएको थिएन। त्यस्तै, २४३ संक्रमितहरु ती देशका हुन् जहाँ यसअघि पनि मंकिपक्स देखिएको थियो।

यसको संक्रमण सबैभन्दा बढी स्पेनमा देखिएको छ। त्यहाँ तीन हजार १२५ जना संक्रमित पहिचान भएका छन्। त्यस्तै, अमेरिकामा दुई हजार ८९० जनामा यसको संक्रमण पुष्टि भएको छ। जर्मनीमा दुई हजार २६८ र बेलायतमा दुई हजार २०८ जनामा संक्रमित पहिचान भएका छन्।

संक्रमण पहिचान भएकामध्ये घाना, नाइजेरिया, रिपब्लिक अफ कंगो, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिपव्लिक र डोमोक्राटिक रिपब्लिक अफ कंगोमा यसअघि पनि मंकिपक्सको संक्रमण पुष्टि भएको थियो। भारतमा पनि मंकिपक्सका २ जना संक्रमित पहिचान भएका छन्।

डब्लुएचओले समूहगत रुपमा देश तथा पक्षहरुलाई फरक-फरक निर्देशन जारीसमेत गरेको छ।

समूह १ का देशहरुका लागि निर्देशन

समूह १ मा रहेका देशहरुलाई ८ बुँदे निर्देशन जारी गर्दै मंकिपक्सविरुद्ध तयारी अवस्थामा बस्न तथा मानिसदेखि मानिसमा संक्रमण सर्नबाट रोक्न स्वास्थ तथा वहुपक्षीय संमन्वय संयन्त्रको स्थापना अथवा सक्रिय पार्न निर्देशन दिएको छ।

रोग निगरानी प्रणालीको स्थापना गरी परीक्षणको लागि सहज र सरल प्रणालीको विकास गर्न निर्देशन दिइएको छ। त्यस्ता देशमा संक्रमित, सन्दिग्ध, सम्भावित गरी केसको परिभाषित गरी निगरानी गर्नसमेत डब्लुएचओले समूह १ का देशहरुलाई भनेको छ।

त्यस्तै, स्वास्थ्यकर्मीहरुलाई तालिमको व्यवस्था गर्नसमेत भनिएको छ। यस्तै, मंकिपक्सको बारेमा जनचेतना फैलाउनसमेत आग्रह गरिएको छ। पंकिपक्सको नियन्त्रण, रोकथाम र लक्षणहरुको बारेमा संक्रमितहरुमा जनचेतना फैलाउन आग्रह गरिएको छ।

विशेष गरी गे, उभयलिंगी, पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषहरु (एमएसएम), अधिक सेक्स पार्टनर भएका मानिसहरु, यौन मजदुरहर, ट्रान्सजेन्डर व्यक्तिहरुलाई यसको बारेमा जनचेतना फैलाउन भनिएको छ।

त्यस्तै, समुदायमा आधारित समूहरु, यौन स्वास्थ्य तथा नागरिक समाजका सञ्जालहरुलाई मंकिपक्सको बारेमा आधिकारीक सूचना प्रवाह गर्न प्रयोग गर्नसमेत भनिएको छ। यस्तै, पंकिपक्सको संक्रमणको जोखिम रहेका स्थानहरु (एमएसएमका लागि हुने भेला, यौनका लागि खुला हुने क्षेत्रहरु)मा रिक्स कम्युनिकेसनलाई प्रभावकारी बनाउँदै सामुदायिक सहयोग प्रणाली सक्रिय पार्न भनिएको छ। त्यसैगरी, संक्रमण पुष्टि हुनासाथ तत्काल डब्लुएचओलाई जानकारी गराउनसमेत भनिएको छ।

त्यस्तै, डब्लुएचओलाई समूह २ का सबै आवश्यक कदमहरुका लागिसमेत तयारी अवस्थामा राख्न भनिएको छ।

समूह २ मा रहेका देशहरुका लागि निर्देशन

मंकिपक्स नियन्त्रणका लागि समन्वयात्मक प्रतिक्रार्य योजना कार्यान्वयन गर्न देशहरुलाई डब्लुएचओले भनेको छ। डब्लुएचओले समन्वयात्मक प्रतिक्रार्य योजना कार्यान्वयन अन्तर्गत मानिसबाट मानिसमा सर्ने मंकिपक्स रोक्ने लक्ष्यसहित प्रतिकार्य योजनाहरु लागू गर्न भनेको हो।

त्यस्तै, उच्च जोखिममा रहेका समूदायहरुलाई प्राथमिकतामा राखेर समलिङ्गी, उभयलिंगी र पुरुषहरूसँग यौन सम्बन्ध राख्ने अन्य पुरुषहरूलाई केन्द्रमा राखेर जोखिम संचार र सामुदायिक संलग्नता, संक्रमण पत्ता लगाउने, उपचारको व्यवस्था गर्ने, क्नट्याक्ट ट्रेसिङ गर्ने र उच्च जोखिमा रहेका समूहलाई खोपको व्यवस्था गर्न भनेको छ।

यस्तै, प्रभावित समूहदायलाई सशक्त बनाइ उनीहरूले सामना गरिरहेको स्वास्थ्य जोखिमको प्रतिकार्ययाको योजना बनाउन, सक्रिय रूपमा योगदान गर्न र अनुगमन गर्न उनीहरूको नेतृत्वलाई सक्षम बनाउन सहयोग गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, जोखिममा रहेका समूहहरू (प्रतिरक्षा क्षमता कम भएका व्यक्तिहरू, बालबालिकाहरू, गर्भवती महिलाहरू) लाई जोगाउने लक्ष्यका साथ प्रतिकार्य योजना लागू गर्नसमेत डब्लुएचओले भनेको छ। मंकिपक्स नियन्त्रणका लागि समुदायहरू सक्रिय र संरक्षण गर्न डब्लुएचओले भनेको छ।

डब्लुएचओले मंकिपक्स भाइरसका बारे सचेतना जगाउने, अरूलाई अगाडि सर्ने जोखिम कम गर्ने कार्यहरू र प्रकोपबाट प्रभावित समुदायहरूमा स्वस्थ प्रस्तुती दिने, रोकथाम उपायहरूको उचित प्रयोगलाई बढावा दिने र जोखिम न्यूनिकरणका उपायहरु अपनाउनसमेत भनेको छ।

यसैगरी, व्यक्तिगत सुरक्षात्मक उपायहरू र व्यवहारहरू प्रवर्द्धन गर्न भनिएको छ। यस्तै, प्रभावित समुदायका प्रतिनिधिहरू, गैर-सरकारी संस्थाहरू, निर्वाचित अधिकारीहरू र नागरिक समाज, र व्यवहार वैज्ञानिकहरूसँगको समन्वयमा उपर्युक्त प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउनसमेत डब्लुएचओले भनेको छ।

त्यस्तै, भरपर्दो, किफायती र सही निदान परीक्षणहरूमा पहुँचसहित राष्ट्रिय निगरानी योजनाहरूको कार्यान्वयनलाई तीव्र पार्न डब्लुएचओले भनेको छ। यस्तै, डब्लुएचओलाई संक्रमणको अध्यावधिक विवरण उपलब्ध गराउनसमेत भनिएको छ। आरटी-पीसीआर, न्युक्लिक एसिड एम्प्लिफिकेशन टेस्टिङ (एनएएटी)को प्रयोगमा आधारित परीक्षण प्रयोगशालाको क्षमता बढाउँदै अन्तर्राष्ट्रिय नमूना रेफरल क्षमताहरू बलियो बनाउन आग्रह गरिएको छ।

त्यस्तै, संक्रामक अवधिका लागि संक्रमितलाई आइसोलेसनमा राख्ने, त्यस्तो बेला स्वास्थ्य, मनोवैज्ञानिक, भौतिक र पर्याप्त जीवनयापनको लागि आवश्यक समन्वय गर्ने उपाय अपनाउन भनिएको छ। यस्तै, संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने र २१ दिनसम्म निगरानीमा राख्ने कार्य गर्न भनिएको छ।

त्यस्तै, यो समूहमा रहेका देशहरुलाई अन्तर्राष्ट्रिय यात्रामासमेत कडाइ गर्न भनिएको छ। मंकिपक्सको संक्रमणको जस्तै लक्षण देखिएका, संक्रमित भएका, सम्भावित व्यक्तिहरु, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय यात्रामा रोक्न भनिएको छ।

समूह ३ मा रहेका देशहरुलाई निर्देशन

समूह ३ मा रहेका देशहरुलाई राष्ट्रियस्तर, संघीय, प्रदेश, स्थानीय तहमा एक स्वास्थ समन्वय संयन्त्र वा अन्य संयन्त्रहरुको स्थापना वा सक्रिय पार्न भनिएको छ। त्यस्तै, संक्रमण अनुसन्धानलाई प्रभावकारी बनाउनसमेत भनिएको छ।

समूह ४ मा रहेका देशहरुलाई निर्देशन

समूह ४ मा रहेका देशहरुलाई डब्लुएचओले स्मलपक्स र मंकिपक्सका खोप उत्पादन बढाउन आग्रह गरेको छ। त्यस्तै, देशहरु तथा उत्पादकलाई डब्लुएचओसँग मिलेर काम गर्नसमेत आग्र गरिएको छ।

उसले खोपहरुको उपलब्धतालाई सुनिश्चित गर्न आवश्यकताअनुसार वितरण गर्नका लागि डब्लुएचओसँग समन्वय गर्नसमेत आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell