
बुटवल : नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पार्टीका बहीखाता बोकेर पार्टी निर्वाचनमा जाने बताएका छन्। सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै छलफलसमेत नगरी ‘छापामार’ शैलीमा निर्वाचन घोषणा गरेको बताउँदै मंसिर ४ गते हुने निर्वाचनबाट जनताले दुधको दुध पानीको पार्टी छुटटाउने दाबी गरे।
प्रेस चौतारी नेपाल, रुपन्देहीले बिहीवार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता नेम्वाङ भने, ‘२८ वर्ष सरकार चलाएको कांग्रेस पनि बहीखाता लिएर जनतामा जाओस्, हामी (एमाले) ८ वर्ष सरकार चलाएको पार्टी पनि बहीखाता बोकेर जनतामा जान्छौं। त्यसको बास्तविक फैसला जनताले गर्नेछन्।’
पूर्वसभामुखसमेत रहेका नेम्वाङले अहिलेको मिश्रित निर्वाचन प्रणालीअनुसार एकल बहुमत कुनै पनि दलको आउने अवस्था नरहेको बताए। एकल बहुमत कसैको आउने अवस्था नरहेकाले गठबन्धन वा तालमेल आवश्यक भए पनि त्यो संसदीय मूल्य र मान्यतामा आधारित रहेर हुनुपर्ने बताए।
अहिलेको गठबन्धनलाई दुषितको संज्ञा दिँदै नेता नेम्वाङले थपे, ‘यो गठबन्धन संसदीय मूल्य र मान्यता विपरीत छ। यो गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ। तर, आवश्यक परे अन्य पार्टीसँग छलफल गरेर गर्न तयार छौं।’ नेम्वाङले प्रतिनिधिसभा विघटनको विषयमा पनि आफूहरूले जनतालाई स्पष्टसँग बुझाउने नेता नेम्वाङको भनाइ छ। जनता र एमालेको दबावकै कारण सरकारले चुनाव घोषणा गर्न बाध्य भएको बताउँदै उनले जनताको आर्शीवाद आफूहरुलाई हुने बताए।
संघीयता खारेजीको विषयमा बाहिर निराधार हल्लाहरु आएको भन्दै उनले एमाले संघीयतालाई बलियो बनाउने गरी निर्वाचनमा जाने स्पष्ट पारे। उनले सरकारले राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीले अमेरिकाबाट अवैध रुपमा आउन लागेको ४० करोड रुपैयाँ रोकेपछि उनीविरुद्ध प्रहार भएको बताए।
'महाप्रसाद अधिकारीले ४० करोड अवैध रकम ल्याउन खोज्दा उहाँमाथि कारवाही भयो। अहिले एम अधिकारी महाप्रसाद होइनन् भनेर एमालेले आधिकारिक रुपमा भन्दा पनि हुने भन्ने सरकार पक्षबाट हो भन्ने भनिरहेको छ। हो भने, सरकारले कारवाही गरेर देखाओस्,’ नेम्वाङले भने।