PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र, नगरिए आन्दोलन गर्ने चेतावनी



सुमित मिश्र

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र, नगरिए आन्दोलन गर्ने चेतावनी

जनकपुरधाम : निर्वाचन अगावै प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्न माग गर्दै मधेश प्रदेश सरकारले प्रदेश प्रमुखमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। मधेश प्रदेशको गृह तथा संचारमन्त्री भरत साहको नेतृत्वमा गएको प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

७ दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरिए आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमा उल्लेख छ।  'हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघ सरकारसँग आग्रह गर्दै आएका छौं', गृह तथा संचारमन्त्री साहले भने, 'तर सङ्घीय सरकारले कुनै गम्भीरता देखाएको छैन, एक सातासम्म पनि प्रहरी समायोजन नभए हामी बाध्य भएर सङ्घीय सरकारविरुद्ध सङ्घर्षमा उत्रिन्छौँ।'

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउनका लागि मन्त्री साहसहित मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मासमेत उपस्थित थिए। उनीहरुका साथै प्रत्येक दलबाट प्रदेशसभा सदस्यसमेत ज्ञापनपत्र बुझाउन पुगेका थिए।

मधेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृहमन्त्रीको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनको आधारमा संघीय सरकारले साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो। यसका साथै मधेश प्रदेश सरकारको टोलीले राजधानी काठमाडौं पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धन दलका शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell