PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

टिकट बाँडफाँटका लागि कार्यदलको बैठक बालुवाटारमा, होला त फाइनल?



टिकट बाँडफाँटका लागि कार्यदलको बैठक बालुवाटारमा, होला त फाइनल?
फाइल फोटो

काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको टिकट बाँडफाँट कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले बैठक जारी रहेको जनाए।

भागबण्डालाई टुंगो लगाउन कार्यदलले गृहकार्य गरिरहेको छ। यसअघि आइतवार बसेको सत्ता गठबन्धनको बैठकले पनि कार्यदलले चाँडै प्रतिवेदन तयार पार्नुपर्ने बताएको थियो।

साउन अन्तिम सम्मको समय सीमा राखेर गठबन्धनले साउन २० गते ११ सदस्यीय कार्यदल गठन गरेको थियो। यसअघि बसेको बैठकमा मापदण्डका बारेमा छलफल भएको थियो। गठबन्धनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १ सय ६५ सिटलाई बाँड्नुपर्ने छ। यस्तै प्रदेशतर्फ ३३० सिटलाई पनि कार्यदलले मिलाउने छ।

पाँच दलीय गठबन्धनमा कुन दललाई कति सिट दिने भन्नेबारेमा टुंगो लागिसकेको छैन। 

अघिल्लो बैठकमा आन्तरिक 'वर्कआउट'पछिमात्र आजको बैठकमा सहभागी हुने सहमति भएको थियो। आजकै बैठकबाट सिट बाँडफाँट फाइनल गर्ने सहमति भएको कार्यदलका सदस्य एवं माओवादी नेता देव गुरुङले बताएका थिए।

'सैद्धान्तिक मान्यताको आधार मोटामोटी टुंगिने गरी अघि बढ्ने छ। आफ्नोआफ्नो दलमा वर्कआउट गरेर आगामी बैठकमा छलफल गर्ने कुरा भयो। त्यही मिटिङबाट फाइनालइज गर्ने कुरा भएको छ,' बिहीवारको कार्यदलको बैठकपछि गुरुङले भनेका थिए।

साउन २० गते गठन भएको कार्यदलको पहिलो बैठक साउन २३ मा बसेको थियो।

पहिलो बैठकले संयोजकमा नेपाली कांग्रेसका पूर्व महान्त्री कृष्ण प्रसाद सिटौला चयन गरेको थियो। ११ सदस्यीय कार्यदलमा कांग्रेसबाट ३,नेकपा माओवादी केन्द्रबाट २,नेकपा एकीकृत समाजवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी नेपाल जसपाबाट २ र जनमोर्चाबाट २ जना सदस्य छन्।

कार्यदललाई मापदण्ड बनाएर प्रतिवेदन बुझाउन साउन अन्तिमसम्मको समयसीमा तोकिएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ र प्रदेश सभाको ३३० सिटको बाँडफाँटका लागि कार्यदल मार्फत सत्तारुढ दलहरुले गृहकार्य गरिरहेका हुन्।

यसअघि स्थानीय तह निर्वाचनमा पनि गठबन्धनले कार्यदल बनाएर सिट बाँडफाँटको मापदण्ड बनाएको थियो। तर,उक्त मापदण्ड अनुसार महानगर र उपमहानगरमा मात्रै गठबन्धन भएको थियो भने बाँकी स्थानीय तहमा स्थानीय संयन्त्रमार्फत गठबन्धन गर्ने निचोड सत्ता गठबन्धनले निकालेको थियो।

सरकारले प्रदेश तथा प्रतिनिधिसभाको चुनाव मंसिर ४ गते एकै चरणमा गर्ने घोषणा गरेको छ। चुनाव घोषणा भए यत्ता सत्तारुढ दलहरु कुन दललाई कति सिट दिने भन्नेबारेमा आन्तरिक तथा गठबन्धनमा छलफलमा छन्। पहिलो बैठकमा आफ्नो दलभित्र छलफल गरेर दलको धारणा सहित दोस्रो बैठकमा बस्ने सहमति भएको थियो।

२०७४ को प्रतिनिधि सभाको निर्वाचनमा एमालेले जितेका सिटलाई मात्र भागबण्डा गरेर अरु ठाउँमा सम्बन्धित दललाई नै उम्मेदवार उठाउन दिनुपर्ने प्रस्ताव कार्यदलको बैठकमा माओवादी र एकीकृत समाजवादीका नेताहरुले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell