PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?



सुमित मिश्र

निधिले समानुपातिक रोज्दा महेन्द्र र रामसरोजलाई तनाव, एमालेका महासेठ दम्पतीलाई होला फाइदा?
फाइल फोटो

जनकपुरधाम: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बन्न राजी भएका छन्। मधेस प्रदेशमा राम्रो प्रभाव जमाएका निधि पछिल्लो समय आफ्नै गुटका कार्यकर्ताले सहयोग नगर्दा कमजोर बन्दै गएका छन्। निर्वाचनमा आफ्नै पार्टीका कार्यकर्ताले सहयोग नगर्ने शंका लागेपछि प्रत्यक्षतर्फ उम्मेदवार नबन्ने उनले निर्णय लिएका हुन्।

प्रत्यक्षतर्फ चुनाव लड्दा उनी ‘डेन्जर जोन’ मा थिए। तर, उनले यसपटक प्रत्यक्षतर्फ उम्मेदवार नहुने निर्णय लिँदै समानुपातिकतर्फ उम्मेदवार बन्ने निधो गरेसँगै उनी ‘सेफ जोनमा’ पुगेको कांग्रेसकै नेताहरू बताउँछन्। केहीले उनको यो निर्णयलाई अनौठो समेत मानेका छन्।

धनुषा क्षेत्र नम्बर ३ बाट विमलेन्द्र निधि प्रत्यक्षतर्फ उम्मेदवार बन्दा ‘हेभी वेट’ नेताबीच प्रतिस्पर्धा हुने अवस्था थियो। धनुषा क्षेत्र नम्बर ३ बाट लोकतान्त्रिक समाजवादी पार्टीले वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा (एमाले) ले पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोलाई उम्मेदवारको रूपमा अघि सारेको छ। त्यसैले पनि निधिले ‘हेभिवेट’ भीडन्तबाट आफूलाई अलग गरेको हुनसक्ने अनुमान गरिएको छ।

यसअघि २०७४ को निर्वाचनमा लोसपाका वरिष्ठ नेता महतोले नै निधिलाई पराजित गरेका थिए। महतोले निधिभन्दा ३ हजार २२ बढी मत ल्याई निर्वाचित भएका थिए। महतोले २७ हजार ४९९ मत प्राप्त गर्दा निधिले २४ हजार ४७७ मत ल्याएका थिए।

किन समानुपातिकतर्फ जाँदै छन् निधि?

कांग्रेसभित्र आन्तरिक गुटबन्दीका क्रममा लामो समय शेरबहादुर देउवा पक्षमा रहेको निधि पछिल्लो समय आफ्नै गुट सञ्चालन गर्दै आएका छन्। आन्तरिक गुटबन्दीकै कारण उनले प्रत्यक्षतर्फ चुनाव जित्ने अवस्था नदेखेपछि समानुपातिकमा सुटुक्क सुरक्षित हुने बाटो रोजेको कतिपयको बुझाइ छ। तर, निधिलाई नजिकबाट बुझ्नेहरूले यो उनको बाध्यता रहेको समेत बताउँछन्। कांग्रेसको महाधिवेशनमा देउवाविरुद्ध उनी पार्टी सभापतिको उम्मेदवार बनेपछि उनलाई आफ्नै क्षेत्रका नेताले असहयोग गर्न थालेका छन्।

आफ्नै पार्टीका नेतालाई कमजोर गर्न निधि समानुपातिकमा!

निधिले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र कांग्रेस नेता रामसरोज यादवलाई कमजोर पार्न समेत समानुपातिकतर्फ जान लागेको आरोप पनि लागेको छ। रामसरोज यादव धनुषा क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा तर्फ उम्मेदवार बन्दैछन्।

यादव अहिले मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन्। यस्तै सहमहामन्त्री महेन्द्र यादव धनुषा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने तयारीमा छन्। सोही क्षेत्रबाट एमालेले पूर्वमन्त्री रघुवीर महासेठलाई उम्मेदवारको रूपमा अघि सरेको छ।

कुनै बेला सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहेका निधिले १४औँ महाधिवेशनमा देउवाविरुद्ध नै सभापतिमा उम्मेदवारी दिए। यद्यपि, दोस्रो चरणमा उनले देउवालाई नै समर्थन गरे तर देउवा पक्षमा उनी विश्वासिलो बन्न सकेका छैनन्। बरु, उनकै साथ रहेका कतिपय नेता अहिले उनलाई छाडेर देउवा पक्षमा लागिसकेका छन्। देउवा पक्षले पनि निधिको विकल्पका रूपमा महेन्द्र यादवलाई अघि सारेको छ। निधि र यादवको सम्बन्ध त्यति राम्रो छैन।

निधिको क्षेत्रमा यादवको राम्रो पकडकै कारण आफूलाई असहयोग हुने देखिएपछि निधि समानुपातिकतर्फ जान तयार भएको बताइन्छ। निधि समानुपातिकतर्फ जाँदा महेन्द्र यादव र रामसरोजलाई कमजोर बनाउन निर्वाचनमा पराजित गर्ने भूमिका खेल्ने कांग्रेसको नेताहरुको बुझाइ छ। निधिले यस्तो खेल खेल्दा महासेठ दम्पतीलाई फाइदा हुने राजनीतिक विश्लेषक रोशन जनकपुरी बताउँछन्।

स्थानीय तहमा निधिको अवस्था

धनुषा क्षेत्र नम्बर ३ मा चार वटा पालिका छन्। सो क्षेत्रको चार पालिकामध्ये तीन वटा पालिकामा कांग्रेसले नै जिते पनि निधि भने ती पालिकाबाट आफूलाई मत आउनेमा विश्वस्त हुन सकेका छैनन्।

गएको स्थानीय तह निर्वाचनमा मुखियापट्टी मुसहरनिया बाहेक तीन वटै पालिकामा कांग्रेसले नै जितेको थियो। गाउँपालिकामा मधेस प्रदेशमा भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले एकलौटी रूपमा आफ्नै भतिज रामबाबु यादवलाई अध्यक्षको उम्मेदवार बनाएपछि कांग्रेसका सोही गाउँपालिकाका पार्टी सभापति विश्वनाथ यादव र महाधिवेशन प्रतिनिधि मुन्ना चौधरी असन्तुष्ट बनेका थिए। पछि उनीहरूसहित कांग्रेसका सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। कोर ‘भोट बैङ्क’ भनिएको सो गाउँपालिका निधिको पकड निकै कमजोर भएको देखिन्छ।

गाउँपालिकाको अध्यक्षमा जसपाका जयकुमार यादव विजयी भएका छन्। सो पालिकाको एउटा वडामा मात्र नेपाली कांग्रेसले जितेको छ। अध्यक्षमा यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसमा रामबाबु यादवले २ हजार ४५५ मतमात्र ल्याएका थिए। यस्तै, निधिको गृहपालिका नगराइन नगरपालिकाको प्रमुखमा कांग्रेसका विनयकुमार यादव जित्न सफल भए पनि निधिको वडा नगराइन-२ को अध्यक्षमा भने लोकतान्त्रिक समाजवादी पार्टीका बुलन यादव निर्वाचित भएका छन्।

उक्त क्षेत्रमा पर्ने धनौजी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष तथा कुल ५ वडामध्ये ४ वडामा वडाध्यक्ष समेत कांग्रेसले नै जितेको छ। वडा नम्बर १ मा मात्र लोसपाले वडाध्यक्ष जितेको छ। उक्त गाउँपालिकामा कांग्रेस नै बलियो देखिएको छ। तर, पनि गुटबन्दीका कारण कार्यकर्ता बाँडिने डर निधिलाई छ।

क्षेत्र नम्बर ३ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार मनोज साहले चुनाव जितेका छन्। साह स्वतन्त्र भए पनि निधिकै ‘कोर’ कार्यकर्ता हुन्। यहाँ उपप्रमुखसहित ११ वडामा कांग्रेसले जितेको छ। कुल २५ वटा वडा रहेको उक्त पालिकामा ७ वटा वडामा एमाले, एउटामा नेकपा (माओवादी केन्द्र), दुई वटामा स्वतन्त्र, एउटामा तराई मधेस लोकतान्त्रिक पार्टी, दुई वटा वडामा लोसपाले जितेको छ।

जनकपुरधाम उपमहानगरपालिको कार्यपालिका बोर्डमा कांग्रेसकै मतदाताले ‘फ्लोर क्रस’ गरेका थिए। निधिले कार्यपालिका चलाउन सबैलाई मिलाउन भन्दै ‘फ्लोर क्रस’ गराएर कांग्रेसका उम्मेदवार पंकज महतो र रामप्रवेश बैठालाई हराएको आरोप छ।

कांग्रेसको कुल ७७ मत थियो, जित्नका लागि ६३ मत मात्र आवश्यक थियो। तर, पंकज महतोलाई ४९ मत र रामप्रवेशलाई ३५ मत मात्रै परेको थियो कांग्रेसकै प्रतिनिधिले नै एमालेका उम्मेदवार दीपेन्द्र साह र सन्तोष महतोलाई भोट दिएर जिताएका थिए।

निधिकै निर्देशनमा उनका स्वकीय सचिव गणेश तिवारी, क्षेत्रीय सभापति श्याम निधि लगायतले हाकाहाकी आफूहरूलाई हराएको महतोको आरोप छ। उक्त अन्तर्घातका कारण कांग्रेसभित्र स्थानीय राजनीतिमा प्रभावशाली नेताको रूपमा रहेका जीवनाथ चौधरी पनि निधिबाट टाढिएका छन्। चौधरी हाल मधेस प्रदेश समितिका सदस्य छन्।

आफ्नै पार्टीका कार्यकर्ताबीच गुटबन्दी गराएर फाइदा लिँदै आएका निधि अहिले भने त्यही गुटबन्दीका कारण आफू संकटमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell