
जनकपुरधाम : मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि दलहरु तीव्र गतिमा तयारी गरिरहेका छन्। दलहरु अहिले उम्मेदवार सिफारिस र छनौटमै व्यस्त देखिएका छन्।
मधेश प्रदेशमा दलहरुलाई उम्मेदवार छान्न सकस छ। पछिल्लो निर्वाचनभन्दा आसन्न निर्वाचनको समीकरण हेर्दा फरक दलहरुले पनि पछिल्लो पटकको तयारीभन्दा पृथक किसिमले गर्नु परिरहेको छ।
२०७४ सालको संघीय निर्वाचनमा मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये अधिकांश निर्वाचन क्षेत्रमा तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)ले जित निकालेका थिए। यी दुई दलले ३२ मध्ये १९ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको सदस्य निर्वाचित गराउन सफल भएका थिए।
संघीय समाजवादी पार्टी र राजपाको गठबन्धनले मधेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई कमजोर तुल्याएको थियो। कांग्रेस ६ स्थानमा खुम्चिएको थियो भने एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धन गर्दा समेत एमालेले २ र माओवादी केन्द्रले ५ स्थानमा मात्रै जित निकाल्न सकेको थियो।
तर, अब समीकरण फेरिएको छ। पछिल्लो स्थानीय तह निर्वाचनलाई आधार मान्ने हो भने कांग्रेस मजबुत भएर आएको छ भने मधेशवादी दलहरु जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तथा माओवादी केन्द्रको शक्ति कमजोर भएको देखिन्छ।
एमालेबाट अलग्गिएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी समेत यस पटकको निर्वाचनमा सहभागी हुनुले हरेक दललाई केही प्रभाव पार्ने निश्चित देखिन्छ।
लोसपाका नेताहरु जोखिममा
२०७४ मा लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। उनको क्षेत्रमा अहिले जसपा बलियो देखिएको छ।
उक्त क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा जसपाले १४ हजार ३ सय ५७ मत ल्याएको छ। लोसपाले १२ हजार ७ सय ३५ मत ल्याएको छ।
५ दलीय सत्ता गठबन्धनमा जसपा रहेकाले लोसपा यो क्षेत्रमा अझै कमजोर बन्न सक्छ। कांग्रेसले ९ हजार ४३ मत ल्याएको छ। एमालेको १० हजार ८ सय २० मत छ। माओवादी केन्द्रले ५ हजार १ सय ९५ मत ल्याएको छ।
यो क्षेत्रमा ठाकुरले निर्वाचन जित्नका लागि सत्ता गठबन्धनकै सहारा लिनुपर्छ। सत्ता गठबन्धनमा आउन लोसपाले प्रयास गरेपनि जसपा अध्यक्ष उपेन्द्र यादव सहमत नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय लिन सकेका छैनन्।
स्रोतका अनुसार यादवलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि साथ दिएका छन्। लोसपाले एमाले, जनमत पार्टी र राप्रपासँग तालमेल गर्यो भने पनि ठाकुरका लागि जित निकाल्न कठिन छ ।
यता, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि झन् धेरै जोखिममा छन्। २०७४ को निर्वाचनमा महतोले धनुषा ३ बाट ३० हजार ७ सय ५० मत ल्याएका थिए। उनले कांग्रेसका तत्कालीन उपसभापति विमलेन्द्र निधिलाई हराएका थिए। निधिले २७ हजार ८ सय ४८ मत ल्याएका थिए।
स्थानीय तहको निर्वाचनमा लोसपाले यो क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूबाट ८ हजार ७ सय ६३ मत मात्रै पाएको छ। जबकी कांग्रेसले २२ हजार ४ सय २८ मत पाएको छ। एमालेले १७ हजार ९६, जसपाले ८ हजार २ सय ३८, एकीकृत समाजवादीले ३ हजार ७ सय २५ मत ल्याएको छ। यस हिसाबले महतो पनि जोखिममै छन्।
लोसपाका अर्का नेता अनिल झालाई पनि रौतहट क्षेत्र नम्बर १ मा जित्न निकै कठिन हुने देखिएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चुनाव उठ्ने तयारी गरेका छन्।
स्थानीय चुनावको मतअनुसार यो क्षेत्रमा एकीकृत समाजवादी सबैभन्दा ठूलो पार्टी बनेको छ। वडा तहमा उसले १९ हजार ६ सय ९८ मत ल्याएको छ।
कांग्रेसले १६ हजार ९ सय २८, लोसपाले १२ हजार ६२, जसपाले ८ हजार २ सय ४१, माओवादी केन्द्रले ८ हजार १ सय १९, एमालेले ७ हजार ३ सय ८५ मत ल्याएका छन्। सत्ता गठबन्धनले यो क्षेत्रमा माधव नेपाललाई उम्मेदवार बनाउने निश्चित जस्तै छ। स्थानीय चुनावको मतलाई आधार मान्ने हो भने पनि माधव नेपालका लागि यो क्षेत्रमा सुरक्षित छ।
मातृका र रघुवीरका लागि पनि विपरित स्थिति
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवलाई धनुषा क्षेत्र नम्बर १ मा गठबन्धनबिना चुनाव जित्न कठिन छ। २०७४ सालमा यादवले यो क्षेत्रबाट एमालेको समर्थनमा फराकिलो अन्तरले चुनाव जितेका थिए।
गत स्थानीय चुनावमा यो क्षेत्रमा माओवादी केन्द्र तेस्रो बनेको छ। स्थानीय तहको मत परिणाम अनुसार कांग्रेसले १३ हजार ५ सय ४४ र एमालेले १२ हजार २ सय १३ मत पाएका छन्। माओवादी केन्द्रले ८ हजार ४ सय ९३ मत मात्रै पाएको छ। यो परिणामलाई आधार मान्ने हो भने मातृकालाई बिना गठबन्धन जीत निकाल्न एकदमै सकस छ।
एमालेका सचिव रघुवीर महासेठलाई पनि निर्वाचन जित्न सजिलो छैन। उनले गत निर्वाचनमा वाम गठबन्धनको तर्फबाट धनुषा ४ बाट निर्वाचन जितेका थिए।
बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेस अगाडि छ। उसले २५ हजार १ सय ९५ मत ल्याएको छ। एमालेले २३ हजार ६ सय ३०, जसपाले ८ हजार ३ सय ७८, एकीकृत समाजवादीको ८ हजार १ सय ६४, माओवादी केन्द्रको ४ हजार ४ सय ३४ मत ल्याएको छ। महासेठसँग चुनाव लड्न कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव मैदानमा छन्।
राउतले जित निकाल्नेमा शंका
जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी-२ बाट निर्वाचन लड्ने घोषणा गरेका छन्। उनका लागि यो क्षेत्र सजिलो हुने देखिदैन। यो क्षेत्रबाट २०७४ को निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए। उनी यो क्षेत्रका स्वभाविक दाबेदार हुन्।
स्थानीय तहको मत परिणाम अनुसार पनि जसपा यो क्षेत्रमा पहिलो दल हो। सप्तरी क्षेत्र नम्बर २ मा जसपाले सबैभन्दा धेरै मत पाएको छ । उसले १४ हजार ४ सय ३ मत ल्याएको छ। दोस्रोमा रहेको कांग्रेसले १० हजार ८ सय ७ मत पाएको छ।
तेस्रोमा रहेको लोसपाले १० हजार ४ सय ३५ मत ल्याउँदा माओवादी केन्द्रको ९ हजार ५ सय ३४ मत छ। एमालेले यो क्षेत्रमा ५ हजार ९ सय ५१ मत मात्रै पाएको छ।
यही क्षेत्रमा चुनाव लड्ने घोषणा गरेका राउतको पार्टीले स्थानीय निर्वाचनमा वडा तहमा ४ हजार ५ सय ४२ मत मात्रै पाएको छ। यो क्षेत्रमा एकीकृत समाजावादीको २ हजार ४ सय ८ मत छ।
यद्यपि, राउतले जित निकाल्नेमा अहिले शंका देखिए पनि उनको उम्मेदवारी अन्य दलका लागि टाउको दुखाईको विषय बन्ने निश्चित छ। कतिपयले उनी यस क्षेत्रबाट अप्रत्याशित जित निकाल्न सक्ने सम्भावनालाई समेत नकार्दैनन्।