PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मधेशमा निर्वाचन : पूर्व प्रधानमन्त्री र बहालवाला मन्त्रीदेखि पूर्व मन्त्रीहरुबिच हुँदैछ चुनावी भिडन्त



सुमित मिश्र

मधेशमा निर्वाचन : पूर्व प्रधानमन्त्री र बहालवाला मन्त्रीदेखि पूर्व मन्त्रीहरुबिच हुँदैछ चुनावी भिडन्त

जनकपुरधाम : मधेश प्रदेशमा ८ वटै जिल्लाका गरी कुल ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु छन्। ३२ मध्ये आधाभन्दा बढी निर्वाचन क्षेत्रमा हुने निर्वाचनले ‘हेभी वेट’ नेताहरुको संसद्सम्मको यात्रालाई तय गर्नेछ।

मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा १५ भन्दा बढी ‘हेभी वेट’ नेताहरु मधेश प्रदेशबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरिरहेका छन्। जसमा पूर्व प्रधानमन्त्री, बहालवाला मन्त्री तथा पूर्व मन्त्रीहरु समेत रहेका छन्।

त्यसमध्ये पनि पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो लगायतको क्षेत्रमा चुनावी प्रतिस्पर्धा विशेष रोचक हुने देखिन्छ। २०७४ को निर्वाचनमा काठमाडौं-२ बाट निर्वाचित निवर्तमान सांसद एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल मंसिर ४ गते हुने निर्वाचनमा गृह जिल्ला रौतहटबाट निर्वाचन लड्ने मनस्थितिमा रहेको पार्टी श्रोतले जनाएको छ।

उनी रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने तयारीमा रहेको बताइएको छ। लामो समय रौतहट र काठमाडौंबाट चुनाव लड्दै आएका नेपालले एउटा निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार हुन पाउने भएपछि २०७४ मा काठमाडौं-२ लाई रोजेका थिए। तर, अहिले त्यहाँ पार्टीको स्थिति कमजोर देखेपछि नेपालले पकेट क्षेत्रको रुपमा रहेको रौतहटलाई नै यस पटक प्राथमिकतामा राख्ने रौतहटका नेता कार्यकर्ताहरु बताउँछन्।

पछिल्लो स्थानीय तहको निर्वाचन क्षेत्रको परिणामले समेत रौटहटमा एकीकृत समाजवादी पार्टीको स्थिति मजबुत रहेको देखाएको छ। वडाध्यक्षमा पाएको मत जोड्दा रौतहट क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीले सबभन्दा धेरै १९ हजार ६ सय ९८ मत पाएको छ। १६ हजार ९ सय २८ मत ल्याएर कांग्रेस दोस्रो स्थानमा रहेको थियो भने लोसपाले १२ हजार ६२ मत ल्याएर तेस्रो स्थानमा झरेको थियो।

जसपाले ८ हजार २ सय ४१ र नेकपा (माओवादी केन्द्र)ले ८ हजार १ सय ९१ मत छ। नेकपा (एमाले)ले वडामा पाएको मत ७ हजार ३ सय ८५ थियो। सोही क्षेत्रबाट लोसपाका नेता अनिलकुमार झा पछिल्लो निर्वाचनमा २१ हजार ४ सय ७२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

उनले नेपाली कांग्रेसका कृष्ण प्रसाद यादवलाई पराजित गरेका थिए। यादवले १५ हजार ८ सय ७४ मत ल्याएका थिए। रौतहट-१ का निवर्तमान सांसद समेत रहेका झा फेरी सोही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।

मधेशको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ पनि बहुचर्चित क्षेत्र हो। यहाँबाट जसपाका अध्यक्ष उपेन्द्र यादवले पछिल्लो निर्वाचनमा प्रतिनिधिसभासम्मको यात्रा तय गरेका थिए।

यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा जसपाले १४ हजार ४ सय ३ मत ल्याएर अग्रस्थान ओगटेको थियो। कांग्रेसले १० हजार ८ सय ७ मत ल्याएको थियो। लोसपाले १० हजार ४ सय ३५, माओवादी केन्द्रले ९ हजार ५ सय ३४, एमालेले ५ हजार ९ सय ५१, जनमत पार्टीले ४ हजार ५ सय ४२ मत ल्याएको थियो।

सत्ता गठबन्धन हुँदा ३७ हजार १ सय ५२ मत पुग्छ। एमालेले लोसपा, राप्रपा र जनमतसँग गठबन्धन गरे पनि यहाँ सत्ता गठबन्धनलाई भेट्न मुस्किल देखिन्छ। उनीहरुको जम्मा २१ हजार ९ सय ७६ मत मात्रै पुग्ने देखिन्छ।

पछिल्लो निर्वाचनमा जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेश कुमार यादवलाई पराजित गर्दै निर्वाचित भएका थिए। उमेशले ११ हजार ५ सय ८० मत मात्रै ल्याउन सकेका थिए।

यता यही क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा सीके राउतले समेत निर्वाचन लड्ने तयारी गरेपछि यहाँको चुनावी भीडन्त रोचक हुने देखिन्छ। राउतले उम्मेदवारी दिए चुनावी परिणामलाई पक्कै प्रभावित गर्ने त्यहाँका स्थानीय नेता कार्यकर्ताहरु बताउँछन्।

लोसपाका अध्यक्ष महन्थ ठाकुर फेरि प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेको लोसपा श्रोतले जनाएको छ। उनी पछिल्लो निर्वाचनमा महोत्तरी-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

तर, पछिल्लो स्थानीय तहको नतिजाले यस क्षेत्रमा लोसपा पहिलेभन्दा निकै कमजोर भएको देखिन्छ। यसपटक यो क्षेत्रमा ५ दलिय गठबन्धनका दलहरु जसपाले १४ हजार ३ सय ५७, कांग्रेसले ९ हजार ४३, माओवादी केन्द्रले ५ हजार १ सय ९५ र एकीकृत समाजवादीले २ हजार ५ सय ७० मत ल्याएको थियो। सत्ता गठबन्धनको यस क्षेत्रमा कुल ३१ हजार १सय ६५ मत आएको थियो।

लोसपाले १२ हजार ७ सय ३५ मत ल्याएको थियो भने एमालेले यस क्षेत्रमा १० हजार ८ सय २० मत प्राप्त गरेको थियो।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा लोसपा अध्यक्ष ठाकुर २६ हजार ८ सय ४५ मत ल्याएर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका विजय कुमार चौधरीले ८ हजार ६ सय ७६ मत मात्रै ल्याउन सकेका थिए।

यस पटक यसै क्षेत्रबाट मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएर दीपेन्द्र झाले चुनाव लड्ने तयारी गरेका छन्। उनी जसपाबाट चुनाव लड्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell