PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपेन्द्र यादवको एक तीर, दुई निशाना : गठबन्धनसँगै एमाले-जसपा समीकरणका लागि समानान्तर गृहकार्य



उपेन्द्र यादवको एक तीर, दुई निशाना : गठबन्धनसँगै एमाले-जसपा समीकरणका लागि समानान्तर गृहकार्य

काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले गठबन्धनमाथि दबाव कायमै राखेको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको चुनावको तालमेल गठबन्धनभित्र मिलिसकेको छैन्। भागबन्डामा असन्तुष्टि जनाएको जसपाले एकातिर गठबन्धनमै छलफलमा भाग लिइरहेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँगको संवादमा जुटेको छ। गठबन्धन दलले १५ सिट जसपालाई दिने प्रस्ताव गरेपछि जसपाले एमालेसँग सहकार्यका लागि गृहकार्य गरेको हो। गठबन्धनमा जसपासँगै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि असन्तुष्ट छन्। 

जसपाले यसअघि नै गठबन्धन बाहिरका दलसँग पनि तालमेल गर्ने निर्णय गरेको थियो। मंगलवार, बुधवारको बैठकमा जसपाका कारण गठबन्धन सहमतिमा पुग्न सकेन। बिहीवार बिहानैबाट गठबन्धनका नेताहरु बालुवाटारमा छलफलमा जुटिरहेका छन्। जसपाका अध्यक्ष उपेन्द्र यादव भने एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा रहेको एमाले नेताहरुले बताएका छन्। पछिल्लो केहि समय यता ओली र यादव बिचमा वार्ता हुदैं आएको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जसपासँग वार्ता भएको पुष्टि गरे। तर, सहमतिमा भने पुग्न नसकेको उनको भनाइ छ। 'जसपा टचमा आएको छ। वार्ता सहमतिमा पुगिसकेको छैन,' उनले भने। एमालेले जसपालाई २५ सिट दिनेगरी छलफल अघि बढाएको हो।

गठबन्धनमा जसपाले मुख्यगरी प्रदेशको भागबन्डालाई प्राथमिकतामा राखेको छ। मधेश प्रदेशमा जसपाको सरकार बन्नेगरी भागबन्डा गर्नुपर्ने जसपाको दाबी छ। यता नेपाली कांग्रेसलगायत दलका नेताहरु भने जसपालाई अहिलेको प्रस्ताव गरिएको भन्दा बढी दिन नसकिने अडानमा रहेका छन्। असोज २३ गतेको मनोनयनको दिन आउनै लाग्दा एमाले-जसपा समिकरणको चर्चा सुरु भएको हो। साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन गरेर तालमेलका लागि गठबन्धनभित्र गृहकार्य भएको भए पनि हालसम्म सहमति हुन सकेको छैन। यादव ओलीसँगको संवादमा रहेपछि गठबन्धनका नेताहरु जसपालाई चुनावी तालमेलका लागि मनाउने प्रयासमा छन्।

एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि तालमेलका लागि संवाद गरिरहेको छ। तालमेलका लागि इच्छुक दलहरुसँग वार्ता गरेर मात्रै प्रतिनिधि सभा टिकटको टुंगो लगाउने तयारीमा एमाले छ। 

ओली प्रधानमन्त्री रहेका बेला उपेन्द्र यादव पनि सरकारमा सहभागी थिए। त्यतिबेला यादव र ओलीको सम्बन्ध भने त्यति सुमधुर थिएन। हाल भने ओली र यादव संवादमा रहेका छन्। पछिल्लो समय ओलीले जसपालाई सरकारबाट आउट गराएर चुनावी तालमेल गर्न चाहेको एमाले नेताहरुको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell