PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मधेशमा साखको लडाइँ : हेभिवेटलाई हेभिवेटकै चुनौती



सुमित मिश्र

मधेशमा साखको लडाइँ : हेभिवेटलाई हेभिवेटकै चुनौती

जनकपुरधाम : मधेश प्रदेशमा यसपटक अधिकांश क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ। प्रदेशको ५ वटा यस्ता क्षेत्रहरु छन् जहाँ हेभिवेट नेतालाई हेभिवेट नेताले नै चुनौती दिएका छन्।

मधेश प्रदेशको सप्तरी २ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चुनौती दिएका छन् भने धनुषा ४ मा पूर्व मन्त्री रघुवीर महासेठलाई पूर्वमन्त्री महेन्द्र यादवले चुनौती दिएका हुन्।

यस्तै, सर्लाही २ मा पूर्व मन्त्री राजेन्द्र महतोलाई पूर्वमन्त्री महिन्द्र यादव, धनुषा २ मा पूर्व मन्त्री रामकृष्ण यादवलाई पूर्वमन्त्री उमाशंकर अरगरिया र धनुषा ३ मा पूर्वमन्त्री जुलीकुमारी महतोलाई पूर्वमन्त्री अनिलकुमार झाको चुनौती छ।

चर्चामा सप्तरी २

५ वटै क्षेत्रमध्ये सबैभन्दा बढी चर्चा सप्तरी २ को छ। जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यहाँ भिड्दैछन्। सीके राउत पहिलोपटक चुनावी प्रतिस्पर्धा जान लागे पनि जसपा अध्यक्ष यादवका लागि उनी चुनौती बन्नेछन्। यी दुई हेभिवेट नेताका बिच सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जयप्रकाश ठाकुरलेसमेत टक्कर दिनेछन्।

२०७४ को निर्वाचनमा यो क्षेत्रबाट जसपा अध्यक्ष यादवले २१ हजार ६ सय २० मत ल्याएर माओवादी केन्द्रका नेता उमेशकुमार यादवलाई पराजित गरेका थिए। उमेशले ११ हजार ५ सय ८० मतमात्रै ल्याउन सकेका थिए। अहिले सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका लोसपा नेता ठाकुरले १० हजार बढी मत पाएका थिए।

जातिवादको राजनीति

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा ३ मा उम्मेदवारी दर्ता गराउने आँकलन गरिएको थियो। तर लोसपाले धनुषा ३ मा अनिलकुमार झालाई पठाएर महतोलाई सर्लाही क्षेत्र नम्बर २ मा पठाएको छ। लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरे पनि यस क्षेत्रमा चुनावी तालमेल हुन सकेन। सर्लाही २ मा महतोलाई नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादवको चुनौती छ।

२०७४ सालको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट यादवले जित निकाल्दै यस क्षेत्रको प्रतिनिधित्व प्रतिनिधिसभामा गरेका थिए। उनले २९ हजार १९१ मत ल्याउँदै जित निकालेका थिए। उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगीलाल रायले १८ हजार ९ सय ७६ मत ल्याउन सकेका थिए। त्यस्तै माओवादी केन्द्रका दिनेश रायले ८ हजार ३७ मत ल्याएका थिए।

नेसपाका अध्यक्ष यादव सर्लाही २ को निवर्तमान सांसद रहे पनि लोसपाका वरिष्ठ नेता महतोको उम्मेदवारी उनका लागि ठूलो चुनौती छ। यस क्षेत्रमा जातीय समीकरणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले महतोका लागि पनि यो क्षेत्र त्यति सहज छैन्। यादव बाहुल्य क्षेत्र रहेकाले यहाँको सबैभन्दा मजबुत उम्मेदवार नेसपाका अध्यक्ष यादव नै हुन्।

तर, सत्ता गठबन्धनकै घटक दल रहेको लोसपाका वरिष्ठ नेता महतोले नेपाली कांग्रेसका नेता जंगीलाल रायलाई साथ लिएर यादवको मत आफ्नो पक्षमा पार्ने रणनीति बनाएका छन्। कांग्रेस नेता राय २०७४ सालको प्रतनिधिसभा निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेकाले उनको साथ महतोले पाएपछि मजबुत स्थितिमा पुगेका छन्।

रौतहट १ का निवर्तमान सांसद रहेका लोसपाका नेता अनिलकुमार झाले एमाले नेतृ जुलीकुमारी महतोलाई चुनौती दिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराएका छन्। यी दुई हेभिवेट नेताबिच यहाँ पनि कडा टक्कर हुने सम्भावना रहेको छ। मधेश प्रदेशको राजधानी जनकपुरधाम यही क्षेत्रमा पर्ने भएकाले यहाँ दलहरुका लागि साखको लडाई छ।

२०७४ को निर्वाचनमा लोसपाका वरिष्ठ नेता महतो र कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिबिचको चुनावी प्रतिस्पर्धाका कारण यस क्षेत्रलाई चर्चाको शिखरमा पुर्‍याएको थियो। उक्त निर्वाचनमा महतोले निधिलाई पराजित गरेका थिए। महतोले ३० हजार ७७ सय ५० मत प्राप्त गरेका थिए भने निधिले २७ हजार ८ सय ४७ मत ल्याएका थिए। तर यस पटक यहाँबाट न महतो छन् न त निधि नै। तर जुली र झाको उम्मेदवारीले यो क्षेत्र चर्चाको केन्द्रमै रहेको छ।

२०७४ मा रौतहट १ बाट निर्वाचन जितेका झालाई व्यवस्थापन गर्नकै लागि सत्ता गठबन्धनले धनुषा ३ मा उनलाई हटाएको हो। तर जुली स्थानीय नेतृ रहेकाले यहाँको सबैभन्दा मजबुत उम्मेदवार जुली नै रहेको यहाँका मतदाताहरु बताउँछन्। यद्यपि लोसपासँग समेत यस क्षेत्रमा ठूलै मत छ। कांग्रेसी मतको साथ झाले पाउने भएकाले जुलीलाई लोसपाका नेता झाले कडा टक्कर दिने निश्चित छ।

धनुषा ४ मा साखको लडाई

धनुषा ४ मा समेत दुई पूर्व मन्त्री बिच साखको लडाई हुने देखिएको छ। यहाँका नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव आमनेसामने छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यी दुई नेता आमने सामने हुँदा महासेठले जित निकालेका थिए।

महासेठ २२ हजार ५ सय ३२ मत ल्याएर जित निकालेका थिए भने उनको निकटतम नेपाली कांग्रेसका सहमाहमन्त्री यादवले १९ हजार ९ सय ९१ मत ल्याएका थिए। सोही क्षेत्रका नेपाली कांग्रेस धनुषाका पूर्व उपसभापति रहि सकेका सन्तोष यादवलाई एमालेमा प्रवेश गराएर उम्मेदवार बनाएपछि यसको असर कांग्रेस नेता यादवलाई पर्ने निश्चित छ।

तर मनोनयन दर्ताकै दिन एमाले जसपा गठबन्धनका घटक दल रहेको जसपाका मधेश प्रदेशका उपाध्यक्ष शेषनारायण यादवलाई कांग्रेसमा प्रवेश गराएर प्रदेशको उम्मेदवार बनाएपछि कांग्रेसका सहमहामन्त्री यादवले जसपाको ठूलै भोट बैंकमा प्रवेश गर्ने बाटो तयार पारेका छन्। यी दुई नेताबिच यस पटकको निर्वाचनमा कसले बाजी मार्लान्? यसका लागि परिणाम नै कुर्नुपर्ने देखिन्छ।

धनुषा २ मा सहज जित निकाल्ने अभिप्रायले नेकपा एमालेले त्यहाँको निवर्तमान सांसद उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गरायो। एमालेले अरगरियालाई टिकट दिएर धनुषा २को प्रतिनिधिसभाको उम्मेदवार पनि बनायो। तर एमालेले सोचेजति सहज विधि जित निकाल्न त्यहाँ सम्भव छैन।

अरगरियालाई त्यहाँ चुनौती दिनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले उम्मेदवारी दिएका छन्। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यादवले अरगरियालाई चुनौती दिएका थिए। तर सो निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट अरगरियाले ३२ हजार ४४ मत ल्याएर जित निकालेका थिए। माओवादी केन्द्रबाट निर्वाचन लडेका नेकपा एकिकृत समाजवादीका नेता रामचन्द्र झाले १८ हजार ७ सय १५ मत ल्याएर निकतम प्रतिद्वन्द्वी बनेका थिए भने कांग्रेस नेता यादव १५ हजार ४ सय ४२ मत ल्याएर तेस्रो स्थानमा चित्त बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell