PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

देउवाले चार मन्त्री बर्खास्त गरेपछि लालबाबुले खोल्दै फायरः हटाउँदै कांग्रेस, माओवादी र समाजवादीका मन्त्री



सुमित मिश्र

देउवाले चार मन्त्री बर्खास्त गरेपछि लालबाबुले खोल्दै फायरः हटाउँदै कांग्रेस, माओवादी र समाजवादीका मन्त्री

जनकपुरधामः मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्ने तयारी गर्ने भएका छन्। केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपालबाट केन्द्र सरकारमा सहभागी मन्त्रीहरुलाई बर्खास्त गरेको केही घण्टा नबित्दै मुख्यमन्त्री राउतले पनि गठबन्धन दलका अन्य मन्त्रीलाई पदबाट बर्खास्त गर्न लागेका हुन्।

सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गरेकोले जसपाका चार मन्त्रीलाई प्रधानमन्त्री देउवाले केन्द्र सरकारबाट हटाउँदा मुख्यमन्त्री राउतले पनि प्रदेश सरकारमा सत्ता गठबन्धनबाट सहभागी ६ मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गर्न लागेका हुन्। मुख्यमन्त्री राउतले कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री रहेका रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह, माओवादी केन्द्रबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, सोही मन्त्रालयकी राज्यमन्त्री रुवीकुमारी कर्ण तथा एकीकृत समाजवादीबाट उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो एवं कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवलाई जसपा नेतृत्वको मधेस प्रदेश सरकारबाट हटाउन लागेका हुन्।

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिहं २०७८ जेठ २६ गते मन्त्री बनेका थिए। माओवादी केन्द्रबाट भरतप्रसाद साह र रुवीकुमारी कर्णले साउन २ गते शपथ लिएका थिए।

त्यस्तै, एकीकृत समाजवादीका तर्फबाट शत्रुधन महतो तथा प्रमोद यादवलाई मंसिर ५ गते प्रदेश सरकारमा सहभागी गराइएको थियो।

देउवाले बिहीबार सरकारमा सहभागी जसपाका राजेन्द्र श्रेष्ठ, मृगेन्द्रकुमार सिंह यादव, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई बर्खास्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell