PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

धनुषा ४ मा दुई 'हेभिवेट' नेताको आक्रामक घरदैलो : महासेठ ठेरा पुग्दा महेन्द्रको सिर्सियामा 'डिजे रथ'

धनुषा ४ मा दुई 'हेभिवेट' नेताको आक्रामक घरदैलो : महासेठ ठेरा पुग्दा महेन्द्रको सिर्सियामा 'डिजे रथ'

सुमित मिश्र/पहिलोपोस्ट


जनकपुरधाम : मिथिला नगरी जनकपुरधामको १० किलोमिटर उत्तरपूर्वमा पर्ने धनुषाको मिथिला बिहारी नगरपालिकामा सोमवार बिहानैबाट चुनावी रौनक छायो। सडक वरपर र चोकबजारलाई चुनाव चिह्न अंकित तोरणले चिटिक्क सजाएइको थियो भने धनुषा ४ मा प्रमुख प्रतिस्पर्धी मानिने दुई हेभीवेट नेताले यही पालिकामा प्रचार केन्द्रित गरेको थियो।

एमालेबाट यस क्षेत्रमा उम्मेदवार रहेका एमालेका सचिव रघुवीर महासेठ वडा १० स्थित ठेरामा साढे ८ मा घरदैलोमा छिर्दा गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादव यही पालिकाको वडा ६ स्थित सिर्सियामा घरदैलो गर्दै थिए।

आफूले जिल्लामा भएको विकासमा अहम भूमिका खेलेको दाबी गर्दै महासेठ फेरि जिताउन आग्रह गर्दै नमस्कार गर्थे। जनकपुर र ठेरा जोड्ने चार लेनको सडक प्रस्ताव र ठेराबाट ढल्केवर जोड्ने सडक निर्माण हुने उल्लेख गर्दै पुन जिताउन आग्रह गर्थे उनी। मतदाता खुसीपूर्वक उनलाई अबिर दल्दै माला लगाइदिन्थे। महासेठलाई कहिले कार्यकर्ताहरु डिहवार थान(देउता थान) घुमाउँथे त कहिले पसलभित्र।

यता महेन्द्र यादव सिर्सियातिर घुम्दै थिए। मतदातासँग उनी भन्दै थिए - महासेठले चुनाव जितेर केही गरेका छैनन्। मलाई जिताउनुस्, विकास गर्छु। महेन्द्रलाई पनि कार्यकर्ताको स्वागत कम्तीको थिएन। आफ्नो घर आइपुगेका नेतालाई माला लगाउने, अबिर दल्न कार्यकर्ता अघि सरिहाल्थे। महेन्द्रको चुनावी प्रचारमा 'डिजे रथ'को परिक्रमले थप रौनकता छाएको थियो।

महेन्द्र र रघुवीर परिचित प्रतिद्वन्द्वी हुन्। अघिल्लो निर्वाचनमा रघुवीर २२ हजार ५३२ मत पाएर निर्वाचित हुँदा महेन्द्र १९ हजार ९९१ मतपात्र पाएका थिए। यसपटक रघुवीर विरासत जोगाउने प्रयासमा छन् भने महेन्द्र नतिजा उल्टाउने तयारीमा छन्।



ट्रेन्डिङ पोस्ट

Ncell