PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मधेशमा सशक्त उम्मेदवारहरुलाई चुनौती दिन चुनावी मैदानमा छन् यी कलाकार



सुमित मिश्र

मधेशमा सशक्त उम्मेदवारहरुलाई चुनौती दिन चुनावी मैदानमा छन् यी कलाकार

जनकपुरधाम : मैथिली सिनेमा जगत र कलाकारिता क्षेत्रका अब्बल नाम हुन् मुरलीधर मिजार, कृष्णा कुमार महतो र ज्ञानु कुमार यादव। कला, संगीतसँग जोडिएका उनीहरू मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनेका छन्।

मुरलीधर सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका उमेदवार छन्। कृष्णा धनुषा ४ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उमेदवार हुन्। ज्ञानकुमार सिरहा ३ को ‘ख’मा प्रदेशसभा सदस्य पदका लागि जनमत पार्टीबाट उमेदवार बनेका छन्। कलाको माध्यमबाट उठाएको मुद्दा कार्यान्वयनका लागि उम्मेदवारी दिएको उनीहरूको भनाइ छ।

नेपालमा मात्रै होइन भारतमासमेत ख्याती कमाएको नाम हो, मुरलीधर मिजार। अहिले उनी चुनावी मैदानमा छन्। निर्वाचन क्षेत्रमा मत माग्नु उनको अहिलेको दैनिकी हो।

‘उडायो सपना सबै हुरीले...’ बोलको गीत उनको लोकप्रिय गीत हो। नेपाली र हिन्दीमात्र होइन मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा उनले सयौँ गीत गाएका छन्। पछिल्लो समय उनी फिल्म लेख्न र निर्देशनमा सक्रिय छन्।

उनी कलाका विभिन्न विधामा अब्बल छन्। तर, आसन्न निर्वाचनमा उनको जित सजिलो छैन। किनभने सिरहा २ बाट दुई पूर्वमन्त्री पनि चुनावी मैदानमा छन्। सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी चित्रलेखा यादव र नेकपा (एमाले)-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनका राजकिशोर यादवको सामना उनले गर्नुपर्नेछ।

चित्रलेखा र राजकिशोर यस पटक बलियो उमेदवारको रुपमा चर्चामा छन्। उनीहरूको संगठन पनि मजबुत छ। तर, मुरलीधर चुनाव लडेको राप्रपाको न संगठन अब्बल छ, न उनी जनतामा नेताको रुपमा भिजेका छन्। त्यसैले मुरलीधरलाई चुनाव जित्न ठूलै चुनौती छ।

मुरलीधर जस्तै चुनौती कृष्णाकुमार महतोलाई पनि छ। यहाँ पनि दुई पूर्व मन्त्रीबिच प्रतिस्पर्धा छ। हास्य कलाकार कृष्णा मधेशका प्रायः गाउँमा स्टेज कार्यक्रम लिएर पुगेका छन्। जब उनी स्टेजमा चढ्छन् तब दर्शकको हुटिङ सुरु हुन्छ। हसाएर उनले हजारौँ दर्शकको मन जितेका छन्। तर, चुनावमा मतदाताको मन जित्न सफल होलान् कि असफल? मंसिर ४ को नतिजा कुर्नैपर्छ।

उनी उम्मेदवार बनेको क्षेत्रमा एमाले सचिव रघुवीर महासेठ, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जसपाका केन्द्रीय सदस्य महाजन यादव उमेदवार छन्। जनतामा परिवर्तनको चाहना रहेकाले आफूले जित्ने कृष्णाको दाबी छ।

युवा गायक ज्ञानु कुमार यादव पनि चुनावी मैदानमा खडा भएका अर्का कलाकार हुन्। उनलाई पनि जित निकाल्न सहज छैन। यहाँ पाँच दलीय गठबन्धनका प्रमोद कुमार यादव उमेदवार छन्। उनी प्रदेश कानुनमन्त्री तथा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्षसमेत हुन्।

एमाले-जसपा गठबन्धनबाट रेणु कुमारी यादवको उम्मेदवारी छ। रेणु यसअघि मधेश प्रदेशको सांसद भइसकेकी छन्। यहाँ गोपालप्रसाद यादव र सिरहा नगरपालिकाका मेयर नवीन यादवका भाइ प्रवीन यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ स्वतन्त्र उम्मेदवारको प्रभाव पनि उत्तिकै देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell