बुटवलः नवलपरासीमा एक मतदान अधिकृत बर्खास्तमा परेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनलाई बर्खास्त गरेको हो। बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन्।
नवलपरासी निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा ‘क’ अन्तर्गत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार ५६ वर्षीय चौधरी पाल्ही नन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत छन्। निर्वाचन सामाग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वाभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको डिएसपी पाण्डेले बताए।
बर्खास्तमा परेका चौधरीको ठाउँमा वैकल्पिक मतदान अधिकृत खटाइएको छ। चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशन अनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।