PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मधेशमा कमजोर माओवादी : प्रदेशमा प्रत्यक्षतर्फ जित्यो ४ सिट, प्रतिनिधिसभामा नेसपाले जोगाइदियो साख



सुमित मिश्र

मधेशमा कमजोर माओवादी : प्रदेशमा प्रत्यक्षतर्फ जित्यो ४ सिट, प्रतिनिधिसभामा नेसपाले जोगाइदियो साख

जनकपुरधाम : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभातथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ मधेश प्रदेशमा नेकपा माओवादी केन्द्रले एक सिट मात्र जित्न सफल भएको छ। पाँचदलीय गठबन्धनको कोटाबाट मधेश प्रदेशमा ७ सिट पाएको माओवादी केन्द्रले ६ सिटमा आफ्ना उम्मेदवार उठाएको थियो। एक सिटमा भने नेपाल समाजवादी पार्टीको उम्मेदवारलाई आफ्नो चुनाव चिह्नबाट उम्मेदवार बनाएको थियो माओवादीले।

माओवादीले सत्ता गठबन्धनबाट सिरहा-३, धनुषा-१, महोत्तरी-१, सर्लाही-३, रौतहट-३ र बारा-२ सहित ६ वटा सिट आफ्नो पार्टीको उम्मेदवारका लागि पाएको थिए। सर्लाही–२ मा माओवादीले आफ्नो चुनाव चिह्नमा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई टिकट उम्मेदवार बनाएको थियो भने रौतहट-३ मा नेकपा एमालेका बागी उम्मेदवार प्रभु साहलाई समर्थन गरेको थियो। स्वतन्त्र उम्मेदवार साहलाई समर्थन गर्न रौतहट-३ मा रवीन्द्र पटेलले असहमति जनाउँदा माओवादीले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

माओवादी केन्द्रले आफ्नो उम्मेदवार उठाएको ६ सिट नै गुमाएको छ। नेसपाका उम्मेदवार सर्लाही–२ बाट जितेर माओवादीको साख जोगाइदिएको छ।

मधेसमा विगतदेखि नै कमजोर देखिएको माओवादीले गठबन्धनको बलमा जित्नसक्ने क्षेत्रमा उम्मेदवार उठाए पनि उनीहरू सफल हुन सकेनन्।

माओवादीका प्रभावशाली मानिने नेता मातृकाप्रसाद यादव धनुषा-१ मा जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भए। कार्की २७ हजार ४३१ मत ल्याएर निर्वाचित हुँदा मातृकाले २१ हजार ४८३ मत मात्र ल्याउन सके।

त्यस्तै, सिरहा-३ मा माओवादीका उम्मेदवार विश्वनाथ साह नेकपा एमालेका लिलानाथ श्रेष्ठसँग पराजित भए। लिलानाथ २८ हजार ६४ मत ल्याएर निर्वाचित हुँदा विश्वनाथ भने २६ हजार ८८२ मतमै सिमित भए। महोत्तरी-१ मा माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा एमालेका लक्ष्मी महतोसँग हारे। लक्ष्मीले २३ हजार ४०२ मत पाउँदा गिरिराजले २२ हजार ३७२ मत मात्र पाए। २०६४ देखि २०७४ सम्म निरन्तर चुनाव जितेका पोखरेल यसपटक लक्ष्मीसँग जित्न सकेनन्।

त्यस्तै, सर्लाही-३ मा माओवादीका उम्मेदवार नरेन्द्र साह कलवार नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग पराजित भए। हरिप्रसाद ३२ हजार ९३८ मत ल्याएर निर्वाचित हुँदा नरेन्द्रले ३२ हजार १६८ मत ल्याएका थिए।

रौतहटको निर्वाचन क्षेत्र नम्बर-३ मा नेकपा मओवादी केन्द्रले स्वतन्त्र उम्मेदवार प्रभु साहलाई समर्थन गर्ने निर्णय गरे पनि माओवादीका रविन्द्र पटेलले पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका थिए। अन्ततः पटेल त्यहाँ नराम्ररी पराजित भए। रौतहट-३ बाट भारी मतान्तरले जितेका प्रभु साहले रविन्द्रलाई तेस्रो स्थानमा झारे। प्रभु ३२ हजार ४३७ मत ल्याएर निर्वाचित हुँदा पटेल ८ हजार ५५८ मतमै सिमित बन्न पुगे।

उता, बाराको निर्वाचन क्षेत्र नम्बर-२ मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा जसपाका रामसहाय प्रसाद यादवसँग पराजित भए। रामहसहायले १३ हजार ८२२ मत ल्याएर जित निकाल्दा शिवचन्द्रले १३ हजार ४६८ मत ल्याएका थिए।

मधेश प्रदेशसभातर्फ पनि नेकपा माओवादी केन्द्रका अधिकांश नेता पराजित भएका छन्। प्रदेशसभा सदस्यका लागि १५ क्षेत्रमा उम्मेदवार खडा गरेको माओवादीले ४ सिटमात्र जित्न सक्यो।

माओवादीले प्रदेशतर्फ महोत्तरी-१ (ख), सर्लाही-४ (ख), रौतहट-४ (क), पर्सा-१ (क) मा मात्र जितेको छ।

सप्तरी-१ (क), सप्तरी-२ (ख), सिरहा-२ (क), सिरहा-४ (क), धनुषा-२ (ख), महोत्तरी-४ (ख), सर्लाही-२ (क), बारा-३ (क), बारा-४ (क), पर्सा-३ (क) र पर्सा- (ख) मा उम्मेदवारी दिएका माओवादीका उम्मेदवारहरु चुनाव हारेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell