काठमाडौंः एक महिलाको योजनाबद्ध रुपमा हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महिलाका श्रीमान् र देवर रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा दुई जनालाई सार्वजनिक गरेको हो।
बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर २७ जसौलीस्थित सडकमा एक जना अधवैसे महिला रगत पक्ष भएर लडी रहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो। कुशल दासको घर अगाडी रहेको कच्ची बाटो किनारामा टाउको किचिएको अवस्थामा कुशल दासको श्रीमती वर्ष ३० की रिंकु कुमारी मृत भेटिएकी थिइन्।
घटनास्थल पुगेर प्रहरीले लासको जाँच गर्दा हातको हत्केलामा करेन्ट लागे जस्तो पोलेको दाग देखिएको थियो। त्यसपछि प्रहरीको अनुसन्धान मृतका श्रीमान् कुशल दास तिर मोडियो। प्रहरीले प्राप्त गरेको प्रमाण अनुसार प्रहरीले कुशलाई सोधपुछ गर्दा उनले घटना स्विकारेको प्रहरीले जानकारी दिएको छ। हत्याको कारण भने आफ्नै श्रीमती पर-पुरुषसँग पहिला देखिनै लागेको शङ्का गरिएको खुल्छ।
मंगलबार राती कुशलले श्रीमतीको हत्या गरेका थिए। रिंकु कुमारीलाई सुरुमा उनले करेन्ट प्रवाह भएको बिजुलीको नाङ्गो तारले हातमा करेन्ट लगाइ हत्या गरे। त्यसपछि हत्या नभएर दुर्घटना बनाउन उनले आफ्नो २८ वर्षीय भाइ भरत दासको पनि सहयोग लिन पुगे। उनलाई बोलाएर भरत दासले चलाउने ना.३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने बोलेरो गाडी ल्याइ लासलाई घर बाहिर ल्याएर गाडीले टाउकोमा किची गाडी लुकाइ छिपाइ राखेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
घटनामा प्रयोग भएको ना.३ च ६२४७ नम्बरको गाडी वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौ स्थित शिवम ह्याचरीभित्र लुकाइ छिपाइ राखिएको अवस्थामा भेला परेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।