PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मधेश प्रदेशमा  कुन सांसदले कुन भाषामा लिँदैछन् शपथ? जनमतका सांसदहरुले शपथको भाषा नै टिपाएनन्



सुमित मिश्र

मधेश प्रदेशमा  कुन सांसदले कुन भाषामा लिँदैछन् शपथ? जनमतका सांसदहरुले शपथको भाषा नै टिपाएनन्

जनकपुरधाम : मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम पुस १५ गते (शुक्रबार)का लागि तय गरिएको छ। मधेश प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले प्रदेशसभा सदस्यहरुलाई शपथ गराउने छन्।

न्यौपानेलाई आज दिउँसो २ बजे मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले जेष्ठ सदस्यको शपथ ग्रहण गराउने छन्। प्रदेश प्रमुखबाट शपथ ग्रहण गरेपछि न्यौपानेले बाँकी प्रदेशसभा सदस्यहरुलाई शुक्रबार शपथ ग्रहण गराउने छन्।

मधेश प्रदेशको प्रदेशसभा सचिवालयले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई शपथ ग्रहण गर्न चाह्ने भाषाको नाम सचिवालयमा टिपाउन सूचना निकालेको थियो। सोही सूचनाको आधारमा प्रदेशसभा सदस्यहरुले शपथ ग्रहणको भाषा टिपाएका छन्। प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभा सदस्यहरुले शपथका लागि ८ वटा भाषा टिपाएका छन्। 

सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी नेपाली भाषा टिपाइएको छ। ५६ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिने भएका छन्।

त्यस्तै, बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने भएका हुन्। बज्जिका भाषामा शपथ लिन चाह्ने प्रदेशसभा सदस्यहरुमा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवी रहेका छन्।

मैथिली भाषामा शपथ लिन चाह्ने १० जना प्रदेशसभा सदस्यहरु रहेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव र संजयकुमार यादवले मैथिली भाषामा शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ।

७ जना प्रदेशसभा सदस्यहरुले शपथको भाषा भोजपुरी टिपाएको प्रदेशसभा सचिवालयले जनाएको छ। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिने छन्। थारु भाषामा ३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने छन्। राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिनेछन्।

मगही र हिन्दी भाषामा २-२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिनेछन्।

उर्दु भाषामा प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले मात्र शपथ लिने छिन्। 

जनमतले टिपाएन शपथको भाषा

जनतम पार्टीका अध्यक्ष डा. सिके राउतले प्रतिनिधिसभामा पद तथा गोपनियताको शपथ मधेश भाषामा लिए। भाषा आयोगमा सूचिकृत नै नरहेको भाषामा राउतले शपथ लिएको भन्दै विरोधका स्वरहरु सुनिएपछि विवादमा तानिए। उनको शपथ बदर गर्नसम्मको माग उठिसकेको छ।

राउतसहित जनमत पार्टीका केही प्रतिनिधिसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएको भन्दै मधेशमा विरोधको स्वर सुनियो। मधेश प्रदेशमा भने जनमत पार्टीका कुनै पनि प्रदेशसभा सदस्यहरुले आफ्नो शपथको भाषा नटिपाएको प्रदेशसभा सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell