PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मधेश प्रदेश : ४९ प्रदेश सभा सदस्यले लिए मातृभाषामा शपथ, विवादकाबिच मधेशी भाषामा पनि शपथ, दुइ जनाले पाएनन् लिन



सुमित मिश्र

मधेश प्रदेश : ४९ प्रदेश सभा सदस्यले लिए मातृभाषामा शपथ, विवादकाबिच मधेशी भाषामा पनि शपथ, दुइ जनाले पाएनन् लिन

जनकपुरधाम : मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन। प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन्। शपथ लिन बाँकी रहेका प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ।

मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन्। ४९ प्रदेशसभा सदस्यहरुले मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बज्जिका भाषामा १३ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएका हुन्। बज्जिका भाषामा अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशलकिशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्रप्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन्।

मैथिली भाषामा ११ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन्। किरण कुमारी, कुमरकान्त झा, जिवछीकुमारी यादव, मनिषकुमार सुमन, ममतादेवी मण्डल, राजकुमार गुप्ता, रामअशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजयकुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

७ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिएका हुन्। जैनब खातुन, बच्चाराउत अहिर, रमेशप्रसाद कुर्मी, शारदादास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन्। थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका छन्।

मगही र हिन्दी भाषामा २/२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ। भरतप्रसाद साह तथा सरोजकुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन्।

उर्दु भाषामा एकमात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन्।

विवादकाबिच मधेशी भाषामा शपथ

जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले विवादबिच मधेशी भाषामा शपथ लिएका छन्। जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन्। जनमत पार्टीको सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

अदालतको आदेशका कारण रोकियो २ प्रदेशसभा सदस्यको शपथ

सर्वोच्च अदालतको आदेशका कारण मधेश प्रदेशको २ जना प्रदेशसभा सदस्यको शपथ ग्रहण रोकिएको छ। नवनिर्वाचित प्रदेशसभा सदस्यहरु माला कर्ण र मोहम्मद रजी हैदरको हकमा सर्वोच्च अदालतले निर्वाचित भएको घोषणा हुन बाँकी रहेकाले कुनै काम कारबाही अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएकाले शपथ रोकिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सर्वोच्च अदालतले गत मंसिर २९ गते यी दुबैको हकमा फैसला सुनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell