PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

एमालेले एक महिना टिकाउन नसकेको सुदूरपश्चिम सरकारमा कांग्रेसका शाह अब सुरक्षित, माओवादीले मत दिँदा कस्तो छ अंकगणित?



एमालेले एक महिना टिकाउन नसकेको सुदूरपश्चिम सरकारमा कांग्रेसका शाह अब सुरक्षित, माओवादीले मत दिँदा कस्तो छ अंकगणित?

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत दिने भएको छ। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत दिन सुदूरपश्चिम प्रदेशका माओवादी नेतालाई निर्देशन दिएका छन्। दाहालका प्रेस विज्ञ मनहरि तिमल्सिनाले एक पटक सरकार ढलिसकेकाले अहिलेको सरकार नढलोस् भनेर विश्वासको मत दिने प्रधानमन्त्रीले निर्देशन दिएको जानकारी दिए।

यसरि हुँदैछन् शाह सुरक्षित

सुदूरपश्चिम प्रदेश सभाको बैठक १ बजेका लागि बोलाइएको छ। केन्द्रको गठबन्धनमा गडबढी आएपछि नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलको सरकार माघ २६ मा ढलेको थियो। रावल संविधानको धारा १६८ (२) अनुसार पुस २७ गते मुख्यमन्त्री भएका थिए। कुनै पनि दललाई बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दल मिले सरकार गठन गर्न सक्ने संविधानको व्यवस्था अनुसार सरकार गठन भएको थियो। उनलाई ७ जना सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले मत नदिएपछि सरकार ढलेको थियो।

रावलको सरकार ढलेपछि मुख्यमन्त्रीमा कांग्रेसका शाह माघ २६ गते नै नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सुदूपश्चिममा एमालेको सरकार ढल्नुअघि एमाले- माओवादी गठबन्धनमा सरकार जोगाउने प्रयास भएको थियो। माघ २६ गते प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच सिंहदरवबारमा छलफल भएको थियो। तर उक्त छलफलमा पनि सहमति हुन सकेन। नागरिक उन्मुक्ति पार्टीले आफ्ना पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीलाई रिहाइको माग राखेर एमालेका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थिएन।

माओवादीले मत दिए पाउलान् शाहले विश्वासको मत?
५३ सदस्यीय प्रदेश सभामा कांग्रेस १९ सिट जितेर पहिलो, माओ‌वादी केन्द्र ११ सिट जितेर दोस्रो दल हुन् सुदूरपश्चिममा। एमाले १० सिट ल्याएर तेस्रो भएको थियो। विश्वासको मतका लागि २७ जना सांसद आवश्यक छ। कांग्रेस र माओवादी केन्द्रका सांसद संख्या ३० जान्छ। एकीकृत समाजवादी पनि केन्द्रमा सत्ता गठबन्धनमै रहेकाले उसले पनि मत दिए ३४ हुन्छ। त्यसैले माओवादी केन्द्रले मात्रै मत दिँदा विश्वासको मत पुग्ने छ भने एकीकृत समाजवादीले पनि मत दिए झनै सुरक्षित हुने छ शाहका लागि।

माओवादी केन्द्रले विश्वासको मत नदिने अडान राखेकोमा आज भने दिने तय भएको छ। दोस्रो दल बनेको माओवादी केन्द्रले सुदूरपश्चिममा सरकारको दाबी गरिरहेको छ। राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् सुदूरपश्चिममा। केन्द्रमा बनेको ८ दलको गठबन्धन प्रदेशमा पनि लागू भए कांग्रेस या माओवादी केन्द्रले सुदूरपश्चिममा सरकार चलाउन सक्ने छन्। अघिल्लो ५ वर्षे प्रदेश सभाको कार्यकालयमा सबै ठाउँका सरकार ढलेको भए पनि सुदूरपश्चिममा भने माओवादी केन्द्रका त्रिलोचन भट्टले ५ वर्ष नै सरकार चलाएका थिए। तत्कालीन नेकपा विभाजनका बावजुत पनि सुदूरपश्चिममा माओवादी केन्द्रले ५ वर्ष नै सरकार चलाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell