PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धाराशायी बन्दै गएको राराब क्याम्पसमा स्ववियु निर्वाचनको रौनक : निर्वाचनपछि फर्किएला त साख?



सुमित मिश्र

धाराशायी बन्दै गएको राराब क्याम्पसमा स्ववियु निर्वाचनको रौनक : निर्वाचनपछि फर्किएला त साख?

जनकपुरधाम : जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी(राराब) क्याम्पस देशकै जेठो क्याम्पसहरु मध्येको एक हो। कुनैबेला यस क्याम्पसलाई शैक्षिक हबकै रुपमा चिनिन्थ्यो। धनुषा र महोत्तरीकामात्र नभई सर्लाही, सिन्धुली, रौतहट, रामेछाप, सिरहा, सप्तरी ओखलढुंगालगायतका जिल्लाका विद्यार्थी यहाँ अध्ययन गर्थे।

तर ७ दशक लामो इतिहास बोकेको यो क्याम्पस सरकारी नीति र क्याम्पसकै प्राध्यापकहरुका कारण दिनानुदिन धारासायी हुँदै छ। पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, पूर्वमन्त्री महेन्द्र यादव, रामकृष्ण यादव युवराज खाती, प्रदेशसभा सदस्य रामसरोज यादव लगायतका नेताहरू राराब क्याम्पसकै उत्पादन हुन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर त यस क्याम्पसमा प्राध्यापकको रुपमा काम नै गरे। यी त प्रतिनिधिमूलक उदाहरणमात्रै हुन्। प्राध्यापकहरूको समर्पण, मिहिनेत र पढाइप्रति विद्यार्थीहरूको लगनशीलताले साख कमाउन सफल राराबको साख अहिले गुम्दो छ।

‘क’ श्रेणीको क्याम्पस अहिले ‘ग’ श्रेणीमा खस्किसकेको छ। क्याम्पस प्रमुख प्रदीपकुमार प्रसाद साहले यसको दोष सरकारमाथि थोपरे। सरकारले ल्याएको शिक्षा नीतिका कारण यस्तो भएको उनको भनाई छ। ‘सरकारले ल्याएको नयाँ शिक्षा नीतिले क्याम्पसको साख गुम्दै गइरहेको छ। क्याम्पसको अवस्था धाराशायी हुनुमा विभिन्न कारणहरु छन् जसको प्रमुख कारण सरकार नै हो,’ साहले भने। उनका अनुसार टीयुबाट प्रवीणता पत्र तह हटाइनुले पनि टीयुका सम्पूर्ण क्याम्पसहरुको हविगत खराब भएको छ। राराबसहित अन्य आंगिक क्याम्पसहरुको दुरावस्थामा सरकार र त्रिभुवन विश्वविद्यालय नै प्रमुख दोषी रहेको क्याम्पस प्रमुख प्रदीपले आरोप लगाए। उनले भने, ‘त्रिविले पढाउने संकायहरुको इजाजत आंगिक क्याम्पसबाहेक अन्य निजी कलेजक्याम्पसहरुलाई समेत दिएकाले  विद्यार्थीहरुको संख्यामा कमी आएको छ, निजी क्याम्पसमै राम्रो पढाई हुन्छ भन्ने सोचका साथ विद्यार्थीहरुको संख्या आंगिक क्याम्पसहरुमा घट्दै गइरहेको छ।’

प्राध्यापकहरुले सरकारी नीतिमाथि दोष थुपारे पनि पूर्व प्राध्यापाक नवेन्द्र निधिको तर्क फरक छ। प्राध्यापकहरुकै रबैयाका कारण क्याम्पसको हविगत खराब भएको निधिको दाबी रह्यो। ‘राराबका स्थायी प्राध्यापकहरूले आफ्नै निजी क्याम्पस सञ्चालन गरेका छन्, कागजी रुपमा नदेखिए पनि लगानी गरेका छन्। आफ्नै लगानी भएपछि मोह पलाउनु स्वभाविकै हो। यस्तै मोहका कारण राराबको साख खस्किदैछ,’ निधिले भने।

प्राध्यापकहरूले निजी कलेजमा पढाउनुपूर्व टीयुबाट स्वीकृति लिनुपर्ने प्रावधान छ। क्याम्पसमा कक्षा रहेको समयमा प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाउन पाउँदैनन्। र, सोहीअनुसार उनीहरूले त्रिविबाट स्वीकृति पनि लिएका छन्। तर कार्यान्वयन भने हुन सकेको छैन। राराबमा कक्षा लिनुपर्ने समयमा कतिपय प्राध्यापकहरू निजी शैक्षिक संस्थामा पढाइरहेका हुन्छन्। यसबारे राराबका प्रमुख पनि अनभिज्ञ भने छैनन्। तर क्याम्पस प्रमुख साहले ती प्राध्यापकहरुको बचाउ गर्दै भने, ‘त्रिविले नै उनीहरुलाई पढाउन इजाजत दिएको छ, इजाजत लिएर नै उनीहरु नीजि क्याम्पसमा पढाई रहेका छन्।’

स्ववियु निर्वाचनपछि फर्केला त साख?

राराब क्याम्पसमा कुनै समय १५ हजार बढी विद्यार्थीहरु अध्ययनरत हुन्थे। तर अहिले त्यो संख्या दोब्बरभन्दा कम अर्थात ७ हजारमा झरेको छ। ७ हजारमध्ये मुश्किलले १ हजार विद्यार्थीमात्रै दैनिक कक्षा लिन पुग्छन्। अन्य दिन खाली हुने उक्त क्याम्पसमा अहिले स्ववियु निर्वाचनले चहल पहल बढाएको छ।

१४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनले गर्दा राराब क्याम्पसमा विद्यार्थीहरुको आवागमन बढ्न थालेको हो। डेढ दशकअघिसम्म नेपालकै प्रमुख क्याम्पसको रुपमा चर्चा बटुलेका राराब एक दशक यतादेखि पढाईभन्दा पनि परिक्षा दिएर डिग्री लिने थलोको रुपमा परिचित छ। तर दुई/तीन वर्षदेखि प्राविधिक शिक्षा अवलम्बन गर्न थालेपछि विद्यार्थीको संख्या दोब्बरले वृद्धि भएको छ। प्राविधिक शिक्षाले विद्यार्थीको संख्यामा ह्वात्तै वृद्धि भएपनि प्राविधिक शिक्षाबाहेक परम्परागत शिक्षा संकायमा विद्यार्थी देखिन मुश्किल छ।

विद्यार्थी नेताहरु भने डेढ दशकसम्म स्ववियु नेतृत् विहिन बनेकाले क्याम्पस प्रशासनले गर्दै आएको मनोमानीका कारण क्याम्पसहरुको अवस्था दयनीय हुन गएको आरोप लगाउँछन्। स्ववियु सभापतिमा उम्मेदवारी दिएका नेविसंघका मनिषकुमार यादव र जनमत विद्यार्थी संघका मो. ईजाज मोमिनले क्याम्पस प्रशासनको मनपर्दीले क्याम्पसहरुको अवस्था दयनीय भएको बताए।

स्ववियु निर्वाचनमा सभापतिका दलीय उम्मेदवार स्ववियु निर्वाचनपछि क्याम्पसको दुरावस्थामा सुधार ल्याउन पहल गर्नुलाई आफ्नो चुनावी एजेण्डा नै बनाएका छन्। लोकतान्त्रिक विद्यार्थी संघका उम्मेदवार प्रशान्तकुमार झाले स्ववियुले नेतृत्व पाएपछि राराब क्याम्पसको शैक्षिक गतिविधिमा सुधार आउने दाबी गरे। ‘म, विद्यार्थीको मतबाट स्ववियुको सभापति चुनिएपछि रोजगारमूलक आधुनिक शिक्षाको लागि पहल गर्छु। प्रयोगविहीन रहेको पुस्ताकालयलाई आधुनिक बनाउनु मेरो पहिलो प्राथमिकतामा छ। क्याम्पसभित्र ठाउँठाउँमा शुद्ध खानेपानी, रात्रिसहित तीन सत्रमा पढाइ र सुविधा सम्पन्न खेल मैदानजस्ता योजना पनि मेरो एजेण्डामा रहेको छ,' झाले भने, 'विद्यार्थीसँग नियमित छलफल गरी समस्याको समाधान गर्छु। मासिक बैठक बसेर अन्तरक्रिया गर्छु। निःशुल्क छात्रावास र दुई हजार विद्यार्थी अटाउने आधुनिक सभागृहको आवश्यकता छ। जुन म जितेपछि पूरा गर्छु।’

जनकपुरधामका समाजसेवी रामस्वरुप साह र रामसागर साहले ६९ विघा जग्गा दान गरेर स्थापना गरिदिएको उक्त क्याम्पसले जनकपुरधाम र धनुषालाईमात्र नभई नेपालकै दजर्नौं जिल्लालाई कुनै समयमा साक्षर बनाउँदै आएको थियो। तर अहिले संरक्षणको अभावमा क्याम्पस नै धाराशायी हुने अवस्थामा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell