
जनकपुरधाम : विभिन्न योजनाहरुको काम सम्पन्न गरे पनि भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरुले मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई कार्यालयमा थुनेका छन्। काम गरेको वर्षौं बितिसक्दा पनि भुक्तानी दिने टुंगो नलागेको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई थुनेका हुन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका विभिन्न योजनाहरुको विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी अहिलेसम्म नपाएको भन्दै निर्माण व्यवसायीहरुले मन्त्रालय पुगेर सचिवको कार्यकक्षमा ताला लगाएर प्रदर्शन गरेका छन्। यसका साथै निर्माण व्यवसायीहरुले सचिवको कार्यकक्ष अगाडी फोहोर समेत थुपारेका छन्।
काम सम्पन्न गरेको साढे दुई वर्ष बितिसक्दा पनि भुक्तानी नपाएकोले बाध्य भएर आज सचिवलाई नै कार्यकक्षमा थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए। उनले भुक्तानी नपाउँदा बैंकको ब्याज तिर्नसमेत समस्या भइरहेको र भुक्तानीका लागि प्रदेश सरकारले चासो नदेखाएको गुनासो गरे। बैंकको ब्याज महिनाको ८० हजार तिर्न परिरहेको उनले सुनाए।
निर्माण व्यवसायीहरुको विभिन्न ३८ वटा योजनाको ६० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ। यसमा अन्य मन्त्रालयहरुमा गरेको काम पनि रहेको छ। मधेश प्रदेश सरकारका अन्य मन्त्रालयहरुको पनि विभिन्न उपभोक्ता समितिको करिब १ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।