PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

आजको युरो कप फाइनल : रोनाल्डो Vs ग्रिज्मन



आजको युरो कप फाइनल : रोनाल्डो Vs ग्रिज्मन

युरोकप २०१६ को विजेताको छिनोफानो आजै हुँदैछ। त्यसका लागि आयोजक फ्रान्स र पोर्चुगल तयार छन्। फुटबल खेलमा दुवै टोलीबाट ११/११ खेलाडी मैदानमा भिड्छन्। तर पोर्चुगल र फ्रान्स बीचको फाइनललाई रोनाल्डो भर्सेस ग्रिज्मनको भिडन्तको रुपमा पनि हेरिएको छ। फाइनलसम्म आइपुग्दा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र फ्रान्सका एन्टोनी ग्रिज्मनले उत्कृष्ट प्रदर्शन गरेका छन्। 

दुवै खेलाडीमा केही समानता छ भने केही भिन्नता पनि छन्। दुवै खेलाडीले जर्सी नम्बर ७ लगाएर खेल्छन्। दुवै खेलाडी स्पानिस क्लबबाट व्यावसायिक फुटबल खेल्छन्। रोनाल्डो रियल मड्रिडबाट खेल्छने भने ग्रिज्मन एथ्लेटिको मड्रिडबाट। 

रियललाई ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जिताउने क्रममा रोनाल्डोको क्लबले ग्रिज्मनको एथ्लेटिकोलाई हराएको थियो। 

यस्तै जारी युरोकपमा दुवै खेलाडी आ आफ्नो टोलीका सर्वाधिक गोलकर्ता हुन्। ग्रिज्मन जारी प्रतियोगितामा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छ भने ३ गोल गरेका रोनाल्डो दोस्रो स्थानमा छन्। दुवै खेलाडीलाई फाइनलमा आफूलाई उत्कृष्ट सावित गर्ने मौका हुनेछ।

प्रतियोगिताको सुरुवातमा प्रभाव जमाउन नसकेपनि दुवै खेलाडीले त्यसपछिका खेलहरुमा भने निकै सुधार गरेका छन्। ग्रिज्मनले नकआउट चरणका तीन वटै खेलमा गोल गरेका थिए। समूह चरणमा अल्वानिया विरुद्ध पहिलो गोल गरेका ग्रिज्मनले प्रिक्वाटरफाइनलमा आयरल्याण्ड विरुद्ध २, क्वाटरफाइनलमा आइसल्याण्ड विरुद्ध १ र सेमिफाइनलमा जर्मनी विरुद्ध २ गोल गरेका थिए। 

यता रोनाल्डोले समूह चरणको दुई खेलमा गोल गर्न नसकेपनि हंगेरी विरुद्ध २ गोल गर्दै पोर्चुगललाई नकआउट चरणमा छनोट गराएका थिए। वेल्स विरुद्धको जितमा पनि रोनाल्डोले एक गोल गरेका थिए।

ग्रिज्मनले यस संस्करणको गोल्डेन बुट जित्ने लगभग पक्का छ। सन् १९८४ पछि युरोकपको एकै संस्करणमा ६ गोल गर्ने ग्रिज्मन पहिलो खेलाडीसमेत बनेका छन्। त्यतिखेर फ्रान्सलाई च्याम्पियन बनाउने क्रममा मिचेल प्लाटिनीले एकै संस्करणमा ९ गोल गरेका थिए। जुन अहिलेसम्म तोडिएको छैन। 

तर त्यसलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले भने यसै संस्करणमा ३ गोल गर्दै बराबरी गरेका छन्। सन् २००४ मा युरोकपमा डेब्यु गरेको रोनाल्डोले त्यसपछि लगातार चार संस्करणमा गोल गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।  पोर्चुगलले अहिलेसम्म कुनै पनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको छैन। रोनाल्डो यसपटक यो उपलब्धि पाउन एक कदम मात्र टाढा छन्।

क्लब फुटबलमा सबैखाले उपलब्धी हासिल गरिसकेको रोनाल्डोले पोर्चुगललाई युरोकपको उपाधि जिताउन सके विश्वकै महान फुटबलरको दर्जा पाउनेमा शंका छैन।  

सन् २००० पछि युरोकपको उपाधि जित्ने अभियानमा रहेको फ्रान्सलाई च्याम्पियन बनाउन सके ग्रिज्मन मिचेल प्लाटिनी र जिनेदिन जिदानको हाराहारी पुग्ने फुटबल पण्डितहरुको विश्लेषण छ। फ्रान्सकै पूर्व स्टार थियरी हेनरीले ग्रिज्मनलाई दुई पूर्व स्टारसँग तुलना गर्न सकिने बताइसकेका छन्। 

सन् २००३ मा पोर्चुगलका लागि अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको रोनाल्डोले पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने रेकर्ड समेत बनाइसकेका छन्। ३१ वर्षे रोनाल्डोले १३२ खेल खेल्ने क्रममा ६१ गोल गरिसकेका छन्। यता दुई वर्ष अघि मात्र फ्रान्सका लागि डेब्यु गरेका २५ वर्षे ग्रिज्मनले ३३ खेल खेल्दै १३ गोल गरेका छन्। 

​रोनाल्डो र ग्रिज्मन मध्ये जो युरोकपको च्याम्पियन बन्नेछ उही फिफा बालोन डेअरको समेत दाबेदार बन्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell